आनीको आँखामा संसार
‘यदि भिक्षुणी नभएको भए म ३-४ छोराछोरी सहित कसैकी अज्ञात श्रीमती-आमा हुन्थेँ होला’, फूलको आँखामा, फूलै संसार गीतबाट ख्याती कमाएकी आनी छोइङले भनेकी छन्- ‘भिक्षुणी बनेपछि नै मेरो जीवनको मूल्य उचाइमा पुगेको हो।’ आनीको बाल्यकाल अहिले मान्छेलेहरु अडियोमा सुने जस्तो मधुर थिएन। रहर लाग्दो थिएन। के के छन् उनको जीवनभित्र ? पुस्तक ‘फूलको आँखामा’ले आनीको बाल्यकालको संघर्ष, पीडा र छटपटि अनि तिव्वतियन गुम्बाभित्र भिक्षुणीले पालना गर्नुपर्ने अनुशासन रोचक कथा समेटेको छ।
आनीको जीवनका आरोह-आरोहलाई सन् २००८ मा फ्रान्सको ओ! एडिशनले पहिलो पटक प्रकाशित गरेको थियो। फ्रेञ्च लेखक लाउरेन्स डेब्रिलले लेखेको पुस्तक बेस्ट सेलर भएपछि अहिले यो ११ भाषामा प्रकाशित भइसकेको छ। १२ औं भाषा अर्थात नेपालीमा रुपान्तरण तथा संयोजन गर्ने काममा खटेका थिए पत्रकार गिरिश गिरी। ‘पुस्तकमा जति समय लाग्यो त्यो समयमा म ३ वटा पुस्तक लेखिसक्थेँ’, गिरिशले सुनाए- ‘तर आनीलाई नेपाली साहित्यमा संयोजन गर्न पाउनु आफैँमा धेरै महत्वपूर्ण अनुभव हो।’
नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार दशैँ अगाडि ‘फूलको आँखामा’ बजारमा आउइसक्नेछ। ‘नेपालबारे विश्वभरि धेरै पुस्तकहरु प्रकाशित भइरहेका छन् जो नेपाली पाठकलाई थाहै छैन’, उनले भने- ‘यो नेपालमाथिको विश्व साहित्यलाई नेपाल भित्र्याउने प्रयास हो।’
आनीले नेपाली भाषाको पुस्तक बिक्रीबाट प्राप्त हुने सबै रकम कल्याणकारी काममा लगाउने घोषणा गरेकी छन्। ‘मेरो कथा अन्ततः नेपाल आइपुगेकोमा अत्यन्त खुशी छु’, आनीले भनिन्- ‘पुस्तकबाट आउने सबै रोयल्टी किड्नी रोगीका लागि खर्चिनेछु।’