बाई बाई सेक्सी नोज !
जाडोले नाकबाट पानी चुहाउँदै अन्डरग्राउन्ड फ्लोर छिर्दै गर्दा सिंगै काठमाडौं थर्किरहेको छ। हृवास्स आएको इनामेलको गन्धले मेरो नाकलाई छोएर भित्र गयो। १९७४ एडीको ‘गुराँस फुल्यो बनैमा’ बजिरहँदा मेरा आँखा एउटा कुनामा पुगेर टक्क अडिए- ‘असलविरुद्ध दुस्टहरु’। भित्तामा बुद्ध, सोक्रेट्स र आन्स्टाइनविरुद्ध विन लादेन, बिरप्पन र हिटलर छन्। ७ बजे दरबारमार्गको ‘किग्स बर्गर’बाट सुरु भएको हाम्रो चञ्चल यात्रा ठमेलको ‘ओआर टु के’ र ‘जोम’- हुँदै मध्यरातमा बेबिलोन डिस्को पुगेको छ। काठमाडौंको रातले गर्ने भव्य स्वागतलाई स्वीकार्दै बिन्दास भएर बाहिर निस्केको यो निकै समयको अन्तरालपछि हो। रविन, विशाल र रमिन्द्र सहितको हाम्रो समूह सुधेशको अमेरिका अध्ययन प्रस्थान मितिको पाँच दिन अगाडि घनचक्कर जसरी घुम्दै सुन्धारा आइपुगेको हो।
‘साथी हो, निस्कने बेलामा खबर गर्ने है’- मोटे विशाल डान्सरसँग भीडमा हरायो। रमिन्द्र, सुधेश र रविनले उसलाई पछ्याए। ‘तिमी डान्स गर्दैनौं’- एक्लै सोफामा बसेर जुस पिइरहँदा टेबल अघिल्तिर मतिर फर्केर हृवीस्कीको चुस्की लगाइरहेका तीनमध्ये एकले सोधी। त्यो कालीले शाहरुख खान स्टाइलमा हातमा सिगरेट पनि समातेकी छ। ‘ड्रिङ्कस् गरेपछि गर्छु मैले भने। पुसको मध्यरातमा काठमाडौंको जाडोले मुटु कमाउला भनेर मैले आफ्नो छाती जोगाउन थर्मकोट बाहिरबाट बाक्लो ज्याकेट पनि लाएको छु तर अघिल्तिरका यी तीनै केटीहरु स्लिबलेश लुगामा छन्। रंगीन जीवनको न्यानोपन पुसको जाडो छल्न काफी भएजस्तो ! सुधेशलाई रमिन्द्रले केहीबेरअघि भन्दैथियो- ‘अलास्काको चिसो हिउँमा माछा काट्दा थाहा पाउँछस्, जिन्दगीको मजा।’ सोच्दैछु असास्का जान यी पो लायक हुन कि क्या हो। जाडोले छुँदै नछुने !
हामीलाई साढे ३ फिटको टि-टेबलले छुट्याएको छ तर गफले लगभग सीमाहीन बनाउन थाल्यो। लाटोकोशेराका जस्ता ठूला आँखा भएकी काली चाहिँ औँलाको चालमा सिगरेटको खरानी एस्ट्रेमा झार्दै भन्दैछे- ‘तिमी कस्तो बोरिङ मान्छे। स्मोक पनि नगर्ने, ड्रिङ्क्स पनि।’ ४ हजार भन्दा बढी वाटको आवाजमा म्युजिक बजिरहँदा गफ गर्न गाह्रो भइरहेछ। ‘म दुब्लो छु फेरि हृवीस्कीले निल्यो भने नि’- म गफिँदैछु- ‘सबैभन्दा रमाइलो कुरा चाहिँ एउटा स्टाइलिस स्मोकरको स्मोक प्रोशेस पढ्नुको आनन्द पिउनेलाई के थाहा!’ अलिकति प्रशंसा जोडेर उसको कान छुनेगरी भनेँ ।
२७ मिनेट डिम लाइटमा सँगै गफिएपछि कालीले नाम सोधी। ‘अबको एक घण्टालाई किन नाम जान्नु पर्यो, प्रिन्स चार्ल्स, टम क्रुज वा ब्राड पिट जे भने पनि हुन्छ ।’ मेरो बेतुकको जवाफले कन्सिरी तातेछ। ‘तिमी आफ्नो नाकजस्तै छुच्छो रहेछौ। साँच्चिकै बोरिङ। एन्जोलिना जोली हुनु खतराको विषय हो ।’ हा…हा…हा…. मभन्दा जोडसँग ऊ हाँसी । जुस पिउने बित्तिकै तागत आउँदैन तर हृवीस्कीले जादू चलाए जस्तो छ। मसँग काली गफिरहँदा उसका दुई साथीका आँखा केही परको डान्स फ्लोरमा गएर अडिएका छन्। हिन्दी गीतको शुरुवाती सिम्फोनीसँगै कालीले आफ्नो कम्मर र हातको भंगिमालाई बर्टार्न थाली ।
ओ…….. अजनबी…….
ऐसा कोही मुजको मिलगया हे साथियाँ,
जिसे देखेकर मै भुलुँ सारी दुनियाँ…..
क्षणभरमै लाटोकोसेरा आँखे कालीले टाइट चुजजिन्स पाइन्टबाट बाहिर निकालेका बुट गोदाबारी मार्बल बिछ्याएको भुइँमा जादूमयी तवरले नचाउन थाली। एउटा भेट्रान डान्सरसँग पो गफिएछ ! बिन्दास बनेर एक्लै डान्स गर्दै ऊ अगाडि बढ्दै गर्दा केटाहरुले घेर्दै लगेका छन्। उसका ठूला आँखा फेरि मसँग जुधे। २५ फिट जति टाढाबाट चिच्याउँदै छेउमै आइपुगी- ‘हे म्यान, जोइन विथ मी।’ नाथे साधुले के डान्स गर्थ्यो ! मैले विषयान्तर गरेर आफ्नो कमजोरीलाई पूरापुर छोपेँ। मेरा आँखाले साथीहरु भेट्ने कोसिस गर्दै गर्दा उ भीडमा हराई।
बाहिरिने बेलामा अगाडिको ऐनामा त्यो ग्यांगलाई मैले विशालसँग देखेँ । ‘बाई… क्युट स्मोकर। सिगरेटले तिम्रा आँखा नबिगारोस!’ नोबल एकेडेमीमा प्लस टु की विद्यार्थी कालीले सरप्राइज विदा मागी- ‘बाई… बाई…. सेक्सी नोज।’