नहारेको मान्छे
असारको तेस्रो साता विप्लव दाइले गुरुकुलमा नहारेको मान्छे सहित झन्डै तीन दर्जन कविता सुनाए। गुरुकुल डाँडोमा विपल्वदाइ भेटिएपछि ७ वर्षअघि लाजिम्पाटको एक भेटमा उनले भनेको सम्झिएँ- कुनै दिन यस्तो आउला, कविहरु सेलिब्रेटी होलान्। अनि मेरो कविता सुन्न मान्छेहरु टिकट काटेर आउलान्। ७ वर्षपछि उनको त्यो सपना साकार हुँदै गर्दा म त्यहीँ थिएँ। डेढ वर्ष जति अमेरिका-यूरोप बरालिएर फर्किएका विप्लव दाइ त्यो भेटमा बढी नै भावुक लागेका थिए। मलाई निःशुल्क कविता सुन्ने सुविधा थियो तर ७ वर्ष अघिको उनको भनाइ सम्झिनासाथ १ सय रुपैयाँको टिकट काट्न मजा लाग्यो। धेरै बायस भएको पनि हुनसक्छ जीवन बुझाइ र भोगाइबारे उनको तहबाट कविता लेख्ने नेपाली कवि यतिबेला अरु भएजस्तो लाग्दैन।
नहारेको मान्छे
मैदानमा म एक्लै छु
र झ्याल थुनेर घरहरूको
च्याइरहेछौ तिमीहरू।
मलाई मान्छेहरूले तमासा हेरेको मन पर्छ
र मलाई लाग्छ
मान्छेहरू तमासा हेर्ने केवल एक हूल भीड मात्रै हुन्
मलाई गर्व छ
मैदानमा म एक्लै छु।
रुन्छु म, मलाई पनि दुःख छ
चोट, प्रहार अनि विचारको दुःख
तर गौरव छ मलाई, मैदानमा म एक्लै छु।
आँधीसँग सामना गर्ने कुनै युवक
प्रहारसँग सामना गर्ने कुनै युवती भेट्ने रहर छ
आँसुका थोपालाई मोतीका रूपमा सजाएर
रत्नजडित किस्तीमा पेस गर्ने रहर छ।
तर, मैदानमा म ए क्लै छु
जून एक्ली, सूर्य एक्लो, पृथ्वी एक्ली
मैदानमा म एक्लै छु।
मार्मिक कबिता .