‘डेटलाइन अर्थ्’
ढुंगेयुगमा मान्छे हिँडेको जस्तो देखिने जंगलभित्रको बाटोको अवशेषमा मानव पाइला पहिल्याउँदै हामी अघि बढिरहेछौं। हावाले लडाएका रुखहरु यत्रतत्र छन्। तिलको दाना छिर्न पनि गाह्रो हुने जस्तो घना जंगलको रुखबाट तप तप पानी चुहिरहेछ। अनि पाँच दश मिनेटको फरकमा हुस्सु आउने र जाने गर्दा कपालमा शीत परेको छ। घान्द्रुक जान हिँडेका हामी (स्याटेलाइट) कहाँ आइपुग्यौ पत्तो छैन। यो घना जंगलमा हराएर र भन्दा डराएर श्वास बढिरहेछ। ‘ह्वारर…. ह्वारर….’ यतिकैमा सुनियो एउटा हिंसक आवाज। पाइला टक्क अडिए। मुटु ढक्क फुल्यो। डरले सातो उड्यो।
कम्प्युटर टिक्स हैनः घोरेपानीबाट फर्किंदा नाङ्गेठाँटीमाथिको जंगलबाट देखिएको निलो आकाश अनि जुन।
घोरेपानीबाट घान्द्रुक जान हिँडेका हामीले यात्राका आफ्नै नियम बनाएका छौं। बाटोमा कसैलाई नसोध्ने घान्द्रुक अब कति समयमा पुगिन्छ ? अनि कति बज्यो भनेर घडि पनि नहेर्ने। समयलाई शून्यमा छाडेर नुचरल्ली यात्राको आनन्द लिने। हाम्रो बुझाइमा हामीसँग पृथ्वी, जल, तेज, वायु र आकाश छन् अनि त्यसको चक्रमा घुम्ने दिन र रात मात्रै। इच्छा र आवश्यकताको दास बनाएर समयलाई दोष दिँदै जीवनलाई भागदौडमा हाल्ने डोमिनेन्ट सिस्टमविपरित हाम्रो यात्राशैली आफैँमा प्राकृतिक भएको मलाई थाहा छ।
‘हराउन क्या मज्जा’, अन्नपूर्ण संरक्षण क्षेत्रको घोडेपानी-घान्द्रुक घना जंगलमा अत्तालि रहँदा मैले दिनहूँ च्याटमा सुन्दै आएको त्यो वाक्य सम्झिरहेछु। प्रेममा डुबेर हराउँदा त रमाइलै होला। यस्तो डरलाग्दो घना जंगलमा त शत्रु पनि नहरावस् ! ‘हिंसक जनावर छन् जस्तो छ। अघि बढ्नु खतरनाक हुनसक्छ।’ त्यो आवाज सुनेपछि मेरा पाइला एक कदम पछि हटे। एउटा मृगजस्तो जनावरले फेरि बाटो काट्यो। मेरो हंशले ठाउँ छोड्यो। उफ! आज हाम्रो हालत के हुने हो !?
‘छातालाई कसरी हतियारको रुपमा प्रयोग गर्ने भन्ने बारे सोचौं’- हतास र डराएको स्वरमा स्याटेलाइटले भन्यो- ‘अरु त के छ र ! हतियार पनि केही बोकिएन।’ शान्त हुने प्रयसामा मेरो मुटुको धड्कन झन् बढ्दै गएको अनुभव भइरहेछ। बुझेको छु भय मान्छेको निजी सम्पत्ति हो। डरबाट मान्छेलाई आफूबाहेक कसले पो मुक्त गर्न सक्छ र ? आध्यात्मिक वे बाट मनलाई सम्झाउँदैछु। उसले तिमीलाई केही गर्दैन। फेरि तिमीले उसको केही बिगारेका पनि त छैनौं (भेज भएर)।’ तत्काल अर्कोले मनले सम्झियो सम्यक जीवनका कारण जंगलमा ध्यानस्त बुद्धलाई मारले क्षति पुर्याएन, तिमीलाई केही हुँदैन। यो मारकाटबाट शक्ति प्राप्तिको बाटोमा हिँड्ने मुलुकमा जन्मिएर के को बुद्धको कुरा गर्छस् भाइ, आफ्नो सुरक्षा छिटो गर नत्र खैरो छैन।
यति हाइटमा बाघ नै त छैन होला नि, चितुवा-सितुवा होलान् भए पनि। अनाम जंगलमा घुमिरहेका हामीले सुस्तरी चालेका पाइलाको आवाजले नै हामीलाई तर्साए जस्तो लाग्दैछ। ‘आवाज निकालेर हिँड्नु खतरनाक हुनसक्छ’ स्याटेलाइटले फेरि सतर्क गरायो। मैले चप्पलका फिता कस्न खोजेको जुकाले रगत पिइरहेका रहेछन्। खाउन् यार कति फ्याँक्नु पनि! म पहिलै दिक्क छु जुकादेखि।
घाम डाँडापारि पुगिसकेको छ। अहिलेसम्म बाटै थाहा छैन। यता न उताको भएर जंगलमै रात कट्ने हो कि भन्ने डर बढ्दैछ। अब आज के को घान्द्रुक पुग्न ? घोरेपानी फर्किने बाटो पहिल्यानु पर्यो। ‘यी सब कुराको खबर लेख्नुपरे के डेटलाइन बनाउने होला ?’ घोडेपानीको बाटो पाएपछि अचानक सम्झेँ। पृथ्वीभन्दा के नै बाँकी छ रह्यो र अब— समाचारका आधारभूमि के, कहाँ, किन, कसरी, कसलाई भन्ने कुराको मुख बन्द गरिदिएपछि। घोडेपानीको होटल पुग्दा झमक्क साँझ पर्यो। ‘मनीषा-सम्राटको सम्बन्ध घोडेपानीबाटै सुरु भएको रे… दाइ पनि….’, कान्तिपुरबाट फोन गरेर पुरुले जिस्कायो। मैले पुनहिलको वेदर नखुलेको सुनाएँ।
ओहो हुस्सु फेरि त्यो हुस्सु सम्झन चाहन्न
***
अन्नपूर्ण ट्रेकिङ धेरैका लागि स्मरीणय हुन्छ भन्छन्। हाम्रा लागि बढी नै अविष्मरणीय भयो। हुन पनि हामी एउटा फरक यात्रामा थियौं। शिख उच्चमाविको पुस्तकालयका लागि ३ सय जति पुस्तक लिएर वर्षे झरी र पहिरो छिचोल्दै पहाड चढ्नु आफैँमा दुस्साहसी काम थियो। जीवनमा मृत्युसम्मै प्रतिकूलता उस्तै हो। त्यो डानामिज्म बुझ्ने हो, किन झुक्नु पर्यो ? जंगलमा हराएर कमजोर बनिरहँदा सोचेको कुरा- जीवन यात्रा अनिश्चित छ। यसैबेला वा भोलि वा जतिबेला पनि सकिन सक्छ। म सकिएर के भो त ती पुस्तक पढेर एकजनाले मात्रै पनि आफ्नो जीवन बदल्न सके, त्यो नै मेरो जीवनका सार्थक कुञ्जी हुनेछ।
जीवनको मुम्बई बाटो निर्दिष्ट छ घान्द्रुक बाटो हराएर के भो त। हराएको बेला साथी स्याटेलाइट।
मेरा खुट्टाको हालत जुका लाग्न सुरु हुँदा यस्ता थिए। लगातारको हिँडाइ र जुकाको टोकाइले खुट्टा सुनिएका छन्।
सिस्नो र नामै थाहा नपाएको यो काँडेझारको दुःखाइ कम भएन।
जंगलमा धेरै खाले चरा र यो मुसा भटिए। अरु मुसा मान्छे देखेर डराउँथे यो डराएन। सायद उसको स्वायत्त प्रदेश भएर पो हो कि !
बिकट – गाउ – गाउ मा शिक्षा मार्फत चेतना ल्याउन सक्दो मद्दत गरेर तपाइँहरुले
गर्नु भएको यस्तो मेहेनत प्रशंसानिय छ .
आफ्नै लागि मात्र आफ्नै लागि त सधै हामि बाचेकै हुन्छौ , बिहान उठ्यो आची गर्यो , खायो , काम गर्नु पर्ने गर्यो , निदायो , अनि यी बिचमा हास्ने – दुखि हुने –
रुने – इष्र्या गर्ने – रमाउने आदि इत्यादि सधै चल्ने रित हो सबैको जिबनमा , मात्राको मात्रै फरक होला .
अल्ली फरक जिबन चै यस्तै हो तपाई हरुले गर्नु भएको जस्तो . जिबनको थोरै
दिन किन नहोस ति बिकट गाउ का मान्छेहरुलाई शिक्षा को ज्योति बाल्न सघाउन
मद्दत गर्नु भयो तपाई हरुले . तपाई हरुको त्यो थोरै दिनको धेरै शुन्दर मेहेनत लाइ
सलाम छ .