फेरि त्यो दिन सम्झेर
साँझको समय भए पनि आज छ्याङ्ग उज्यालो छैन। बादल लागेर बाहिर धुम्म भइरहेछ। वर्षाको बेला छ र यहाँ पानी परिरहेछ। ‘कोह..उ, कोह…उ’ एउटा परिचित लाग्ने चरास्वर कानमा ठोक्कियो। त्यो कहाँ बसेर भाका हालिरहेछ खुट्याउन सकिनँ। बोल्न पाइन्थ्यो भने भन्दिन्थेँ, ‘मिस्टर नो बडी हो।’ तर इसारा त गर्न नपाइने ध्यान शिविरमा बोल्नु त शीलको ठाडै उल्लंघन भइहाल्यो नि। ध्यान केन्द्रमा हामी जति छौं सबै चुपचाप। सबै मौन भएको ठाउँमा आक्कल झुक्कल बोल्ने चरा मात्रै हुन्।
ध्यान केन्द्र सँगै रहेको शिवपुरी राष्ट्रिय निकुञ्ज थरिथरि चराको बासस्थान हो। १३ वर्ष अगाडि राजनीतिक असाइनमेन्टका लागि पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टर काठमाडौं आएथे। प्रचण्डसँगको बैठकसँगै उनी चराको चिरबिर सुन्न यहीँ माथिको निकुञ्ज पसेथे। प्राकृतिक संसारमा मानवनिर्मित कुटनीतिक प्रोटोकोल के अर्थ…! चराहरुले बुढालाई अहिलेजस्तै भने हेलान्, ‘कोह…उ?, कोह…उ??’
ट्याङ्….! ड्याङ !! झरिले रुझेको साँझ घन्टीको आवाज सुनियो। १० दिने ध्यान शविरको आज तेस्रो दिन हो। यतिबेला घन्टी बज्नुको अर्थ साँझ ६ बजेको ग्रुप सिटिङ संकेत पनि हो। धम्मश्रृङ्गको आर—९ (मेरो आवास नम्बर) बेडमा पल्टिरहँदा मन उँडु उँडु गरिरहेछ। एकाग्र हुनुपर्ने बेला यो किन चञ्चल?
‘ह्या… एकछिन् चरा झैँ उडोस्। अहिले यसलाई ठिक ठाउँमा ल्याउँला’, मेघास्लिमबाट एक घुड्को तातोपानी पिएँ। र दुवै खुट्टा एकपछि अर्को चलेको अनुभव गर्दै तल ओर्लिएँ। ‘खासमा यो खुट्टा चालको रिमोट पनि माइन्डसँगै हुन्छ कि के हो?’, अर्को मन बाठो भइरहेछ। हुनसक्छ नि!
सम्झिएँ— जेब्रा क्रस प्रयोग गर्दा झन्डै श्वास हावा बनेर उडेथ्यो। ‘अब त्यही श्वासको सुक्ष्म वैज्ञानिक परीक्षण गर भाइ।’ १० अक्टोबर, २०१९ को त्यो राति ट्रमा सेन्टरका डाक्टर निलम खड्काले आइसीयु बेड व्यवस्थापन नगरेको भए, डाक्टर राजन शर्मा अनिँदो बसेर टाउकाको सर्जरी नगरेको भए? त्यो सफल नभएको भए? चेट ! श्वास सधैँलाई हावा बन्थ्यो ! साँच्चै हावा श्वास बन्नु र श्वास हावा बन्नु बीचमा केही निमेषको झिनो अन्तर त हुन्छ।
हुन त मृत्युबिनाको जीवन कसको छ र? एप्पल, पिक्सार र नेक्स्टका संस्थापक स्टिभ जब्स हाकाहाकी भन्थे, ‘स्वर्ग नै जाने भए पनि मान्छे मर्न चाहँदैन।’ मजस्तो आममान्छेको के कुरा भो र !
अलि ठिक भएपछि दोस्त, डाक्टर, नर्सहरुबाट सुनेँ, दुर्घटनासँग जोडिएका तथ्यहरु। उपचार क्रममा नर्स, डाक्टर, औषधि, मेडिकल एशेसोरिज र अरु व्यवस्थापनका दुःखहरु। म वार कि पारको स्थितिमा रहँदा उसले चाहिँ सिङ्गो समाज अनुभव गरिछेः मैत्रीय, स्नेही, सहयोगी, करुणामयी, प्रेरणादायी, लोभी, क्षुद्र दानबीय सबै सबै।
कतै पढेथेँ भेन्टिलेटरमा लडेपछि महाराजै भए पनि उसका लागि त्यहाँ श्रीपेचधारी हुनुको अर्थ फोकस आउट फोटो बराबर हो— शून्य। म नाथे आममान्छेको के कुरा! तर समयले सिकाउँछ नि। कोमामा उपचाररत बिरामी कसको साथमा छ, उपचार प्रक्रियामा त्यो अर्थपूर्ण हुने र’छ। स्मरण पनि कति हुन् यार। श्रृङ्खला उर्लिएर डिस्टर्भ गर्छ कि के हो?
‘ध्यान केन्द्रमा धेरै नबहकिई भाइ’, फेरि अर्को रेफ्री मनमा जाग्यो, ‘जे उद्देश्यका लागि आएको हो त्यो काम गर। यी कथा पछि लेख्नु।’
म उँभिएको ध्यान हल जाने बाटोबाट झन्डै ५ सय मिटर दूरीमा शिवपुरी राष्ट्रिय निकुञ्जको घना जंगल छ। वर्षायाम भएर होला जंगल हुस्सुको घुम्टोभित्र पसे झै छ। असारमा पनि ध्यान केन्द्रमा थरिथरि फूल फुलेका छन्। विस्तारै पगोडा गजुरतिर फर्केर हेर्दा देख्छु, मानव जीवन बढा गतिशील छ। लगभग आकाशबाट परिरहेको पानी र त्यसबाट बनेका थोपाजस्तै। बन्ने, एकछिन् तैरिएर केही पर पुग्ने अनि फुट्ने। बन्ने, तैरिने र फुट्ने यो प्रक्रिया जीवनसँग पनि ननस्टप चल्छ कि के हो! हुन त को चाहँदैन आनन्द र शान्तिको जीवन? सबै चाहन्छन्। तर विज्ञानको आसान नियमले देखाउँछ, तीतेपाती बिरूवा रोपेर हुर्केपछि त्यसमा आँप फल्दैन। माल्दह आँप फलाउन के गर्ने त? आफ्नो-आफ्नो बुद्धि, आफ्नो-आफ्नो विवेक!
‘फट्याक्क…’ यो आवाज छाताको हो, बन्द गर्दा निस्केको। ओडेको छाता बन्द गरेर त्यसको करङ बारमा अड्काइदिएँ। ६ बजेको ध्यान सुरु हुँदैछ। आफ्नै खुट्टा चाल अब्जर्ब गर्दै म फेरि धम्महल प्रवेश गर्दैछु, श्वास अनुसन्धान गर्न।
विपश्यना ध्यानमा बोल्न, पढ्न, लेख्न, फोन, चलाउन पइँदैन। यी सम्झनाहरु १० दिवसीय ध्यानबाट फर्किएपछि सम्झेर लेखेको हो।
लिभाइज जुत्तामा ब्रेक कहाँ !
‘जोन्सोन बेबी सपले तिमीलाई राम्रो गर्छ’, भाटभटेनीको सामाजिक दूरी सपिङमै उसले नुहाउने साबुन छानी। यो पटक ध्यान जाने तयारी त्यहीँबाट सुरु भएको हो। शरीरले चिसो धेरै सहँदैन। असार भएकाले झरीको समय छ। अप्ठ्यारो समयमा ध्यान जान मन गरेँ, उसले सबै व्यवस्था गरिदिई। तातोचिसो दुवै मौसमलाई फरक—फरक लुगा, छाता, टोपी, हल्का ट्राउजर, टिसर्ट, स्वेटर, ओड्ने, नुहाउने—लुगाधुने साबुन, घडि, चप्पल, दाँत माझ्ने ब्रस, पेस्ट सबै सबै। अनि तातोपानी राख्ने मेघास्लिम र चिसोपानीका लागि अर्को एउटा बोतल पनि।
लकडाउन छ, घर बसाईमा के गर्नु र? आदत से मजबुर भन्दछन् नि। म नि त्यस्तै त हो, ट्विटरमा बरालिने, ‘नियर डेथ एक्स्पिरियन्स स्टोरी’ पढ्ने/हेर्ने, कहिले कहीँ लेख्ने। घर छोड्ने अघिल्लो रात तर्कहरु मोबाइल नोटिफिकेसन बजेझैँ टिडिङ—टिडिङ चलिरहेछन्। निदाउनुअघि फेरि अर्को पाना पल्टाएँ। ‘मनोपुबङ्गमा धम्मा, मनोसेट्ठा मनोमया अर्थात् मन सबै प्रवृत्तिको अगुवा हो’, बुद्धले भनेका र’छन्। यसको सुक्ष्म परीक्षण अब गरौंला नि।
कतै हिँड्दा विदा मिलाउनु पर्ने झन्झट मे महिनादेखि छैन। अनलाइनमा लेखन कक्षाकी रोज ट्राभर्सलाई सकेसम्म पोलाइट्ली इमेल लेखेँ, ‘अबको २ हप्ता असाइनमेन्टहरु गर्न असर्थ छु। शुक्रबारे भिडियो क्लासमा अनुपस्थित हुँदा असामान्य नठान। दश दिनका लागि म ध्यान गर्न जाँदैछु। सुरक्षित रहू्, प्रशन्न रहू।’
लकडाउनमा सवारी साधन बन्द छन्। विश्व महामारी बनेको कोरोना फैलिन नदिन बजार बन्द छ तर सरकारका कार्यालय विदा छैनन्। जुन १४ को त्यो बिहान म ध्यान जाने भनेर अलि एक्साइटेड भइरहेथेँ। अफिस हिँड्नुअघि उसले सानो श्वरमा स्नेहपूर्वक बोली। ‘तिमी दुर्घटनामा परेको ९ महिनापछि पहिलो पटक एक्लै हुन जाँदैछौ। आफ्नो ख्याल गर, औषधि नछुटाउ, अलिकति पनि अप्ठ्यारो भए टिचर वा स्वयंसेवकलाई सुनाऊ’, उसले भनी। मैले चै बुझेँ, ‘ध्यान जान सबै व्यवस्था मिलाइदिए पनि मेरो स्वास्थ्यबारे स्मीता ढुक्क छैन।’ उ निस्किुनअघि मैले आफ्नो मनको कुरो सुनाएँ। ढुक्क पार्ने प्रयास गरेँ, ‘मेरो बास मैत्री र स्नेहको वातावरणमा त सर्न लागेको हो। फेरि नभएको कुरा विपश्यनामा केही आउँदैन बाँकी सबै समाना गर्न म सक्छु।’
ध्यान केन्द्र हिँड्ने दिन बिहान केही छुट्यो कि भनेर फेरि ब्याग चेक गरेँ। सबै ठिक छ। एउटा प्रश्न बाँकी रह्यो। पैदल यात्रुसँग दुईटा कार कसरी हुनु र ! लकडाउन छिचोल्दै कसरी शिवपुरी पुग्नु? जोरबिरजोरका कारण एउटा नम्बर प्लेटवाला गाडी एक दिन मात्र चल्छन्। ‘मेरो भाइ नवराज गाडी लिएर २ बजे सीता पेट्रोलपम्प आइपुग्छ है। त्यहाँसम्म आउन समस्या त हुँदैन?’, शीतल दाहालले फोनमा भनिन्, ‘अलि अगाडि नै जान मन भए उसलाई पहिलै भन्नुभए हुन्छ।’
‘हस्! हस्!!’
२ बज्न लाग्दै थियो। फेरि घडी हेरेँ १ः४० बजेछ। लिभाइज जुत्ताको तुना कसेँ। बल्खु—कलंकी बीचको सीता पेट्रोलपम्प पुग्न अब धेरै छैन। यस्तो बेला पइताला रोक्न सकिँदैन नि। फेरि जिन्स पाइन्ट वाला लिभाइजको जुत्तामा ब्रेक छैन। शीतलको सहयोगले निर्धारित समयमा शिवपुरीस्थित धम्मश्रृङ्ग पुगेँ। फर्किने बेला अजित दाईको व्यवस्थापनमा ज्योति भवनसम्म। ‘हामी निस्कि हाल्यौं तपाईं बस्दै गर्नु’, प्रभा भावीजीको श्वर फूर्तिलो सुनियो। आई-टेन कार चलाउँदै उमेश—भावी आइपुगेछन्। र जुन २६ को दिन फर्किएँ कीर्तिपुर।
यो पनि:
१. के सिकिन्छ १० दिने विपश्यनामा शिविरमा?
२. ए…गणेसमानले त त्यसरी पो पढेका रहेछन्