प्रेमचन्द्रमसँग प्रेम गफ

Wed Apr 28 1 Comments

श्लेशमान्तक वनका रुखहरु लगभग पातबिहीन छन्। वसन्त ऋतुका लागि यिनीहरु फेरिँदैछन्। एक साता पछि बिहानीमा फेरि एक्लै मृगस्थली डाडाँ (पशुपति) मा छु। मर्निङ वाक गर्न आएका भुँडेहरु स्वाँ स्वाँ गर्दै पशुपतिनाथ पारिपट्टिको उकालो-ओरालो गर्दैछन्। खुच्चिङ ! हुनुपर्योक नि म जस्तै ‘स्लिम !’ एक मनले तिनलाई जिस्क्यायो। मेरो अनुहारमा खुशी देखियो होला है! खै ‌ऐना भए पो हेर्नु ? म आफैँसँग कुरा गर्दै गोरखनाथ मन्दिर वरिपरिका मन्दिर आर्टहरुमा आँखा डुलाइरेछु। ‘डू यू स्पिक इङ्लिस ?’ ओहो! को इङ्लिसबाज आयो फेरि ? ‘एस प्रेमचन्द्रम फ्रम साउथ इन्डिया ।‘

गाढा पहेँलो रंगको पातलो कमिज र तलपट्टि बौद्ध भिक्षुको चिवरजस्तै हल्का पहेँलो कपडा बेरेका प्रेमचन्द्रम ऐरेगैरे गँजडी बाबाभन्दा फरक देखिए।

हामी मृगस्थली क्याफेमा छौं। धेरै सम्झना संगालेपछि छुट्टिएका वर्षौं पुराना साथीहरु जस्तै हामीसँग गफ गर्ने विषयहरु प्रशस्त छन्। जीवन, आध्यात्म, प्रेम आदि आदि। ‘के खोज्दैहुनुहुन्छ यो वनमा ?’ झन्डै दश मिनेटको कुराकानीपछि मैले सोधेँ। उनले ब्लाक कफीको चुस्की लगाए। ‘देखाउन त के भन्नु र खै।‘ उनका आँखा भावशून्य देखिए। नजिकैको बाँदरको बच्चा हेरेर टोलाइ रहेका उनले के सोचे मैले छनक पाउन सकिनँ। पहिलो पटक भेटेको मान्छेको सोच बारे अनुमान लगाउनु पनि कसरी ? ‘पशुपतिनाथसँग बाँच्न आएको’ झन्डै ४० सेकेन्ड अडिएपछि ‘प्रेमचन्द्रम बाबा’ बोले।

उनको आँखामा कुनै चञ्चला छैन। आँखा र अनुहारको मुद्रा हेर्दा लाग्छ उनीभित्र शान्त र प्रसन्न हृदय स्थिर छ। गफ गर्दा मुहारको भङ्गिमामा कुनै खास एक्सप्रेसन देखिँदैन। बाहिरी मुहारमा एक किसिमको अनौठो आभा छ। मैले भेटेका धेरै सन्तहरुभन्दा यस कारण पनि यी फरक छन् कि यिनीसँग एयरटेल र भोडाफोनका दुई मोबाइल पनि छन्। उनको मुहार नियाल्दै म टोलाइरहेछु। ‘यत्रा मान्छेको भिडमा यिनले किन मलाई नै बोलाएका होलान् ? तरङ्गको कन्ट्याक्ट हुन्छ भन्छन् नि। त्यही भएर पो सन्त वेबले भेट्टायो कि !’ खै! यो संसारको अच्छा भोगी पो हुँ म के को सन्त हुनि नि !

टिँ…टिँ… मेरो मोबाइलमा एसएमएस रिङ बज्यो। ‘एक्लै भएर जति घमण्डी बनिरहेछौ कुनै दिन पछुताउनेछौ।‘ वेब एसएमएस टिलिट गर्नुअघि मुस्काएँ। ‘के रहेछ ?’ जीवन बारेको एउटा सतही च्यालेन्ज। ‘प्रेममा छौ ?’ मभित्र करुणा छ। त्यसलाई प्रेम भन्न पनि सकिएला। ‘किन खटपटि त फेरि ?’ खै! ‘भ्रमको समान स्तर नभएर होला‘, मैले उनकै सम्वाद उनैतिर तेर्साइदिएँ- ‘देखाउनलाई त केही छैन।’

‘निकै अनुभवी छौ जस्तो छ।‘

खै !

‘अझै केही सन्देहमा छौ ?’

अब छैन।

‘आजको मान्छे प्रेमको नाउँमा फगत आत्मभावमा बाँच्न चाहन्छ, अहंभावमा बाँच्न चाहन्छ।‘

के भो त बाँच्न देउ।

‘मान्छे प्यारको खोल ‌ओडेर आफ्ना सपना साकार पार्न चाहन्छ। सुरक्षित भएको ठान्छ। वास्तविकतामा उ कहिलै सुरक्षति हुँदैन। त्यसैले विछोडको वियोगमा रुन्छ।’
ह्या… यी सन्तले पनि त्यस्तै कुरा गर्न थाले फेरि।

‘आश्रम कहाँ छ ?’ मैले विषयान्तर गर्न खोजेँ।

म आश्रमवाला हैन।

हँ….! मेरो मुख आश्चयले खुलेको खुलै भयो।

‘केरेलाको कन्याकुरमारीमा फार्म हाउस छ। म चै ट्रेबान्डममा बस्छु। दुईटी छोरीले पीएचडी सिध्याएपछि बिहे गरे। श्रीमतीलाई छोरीको घरमा छाडेर तीर्थयात्रामा निस्केको।’

३८ वर्षको हुँदा रामचन्द्रम एकजना गुरुको नजिक पुगेका रहेछन्। २० वर्षसम्म नजिक रहँदा पनि नाम र विवरण नखुलाएका गुरुसँग जीवनका फरक आयाम बारे सिकेका रहेछन्। गुरुजीको निधनपछि उनको पथ पहिल्याउँदै भ्रमणमा निस्कँदा मसँग भेट भएको रहेछ। ‘उहाँ चुपचाप आफ्नो आसनमा ध्यानमा बस्नुहुन्थ्यौ। मैले जति सिकेँ, आफ्नै परिश्रममा।’ यति भन्दा नभन्दै उनको गला अवरुद्ध भयो। आँखामा आँसु छचल्किए। म स्तब्ध भएँ। यति जन्ड समाजमा यति कमलो चित्तको मान्छे ! आखिर किन मान्छे यति कमलो ह्लदय लिएर हिँड्छ ? ‘तिमी प्रेसवाला भयौ, मान्छे बन थाहा हुन्छ’, मैले केही भन्न सकिनँ। ‘बच्चा जस्तो सङ्लो चित्त हुनेहरु रुन र प्रशन्न रहन सक्छन्। म बोटनिस्ट हुँदा मान्छे रहन्न।‘

बाबा त बोटनिस्ट पो रहेछन्।

क्यामेरा नबोकी आएको बोटनिस्ट बाबाको तस्विर लिन पाइएन। ‘काठमाडौंमा केही अप्ठ्यारो परे म सहयोग गर्न सक्छु’- दुई घण्टा लामो गफको अन्त्य गर्दै आर्यघाटको पुलमाथि मैले भिजिटङ कार्ड दिएँ।

‘केही पर्दैन। तिमी केरेला आउ मेरो नयाँ गाडीमा घुमौंला।’

केरेला टाढा छ। फेरि मेरा छोरीहरुले पीएचडी गरेकै छैनन्। 🙂

‘रमाइलो रहेछौं।’

दिनभरि कानमा प्रेमचन्द्रमसँगको त्यही सम्वाद घुमिरह्यो- ‘बच्चा जस्तो सङ्लो चित्त हुनेहरु रुन र प्रशन्न रहन सक्छन्।’ त्यो प्रशन्न मान्छे म हुन पाए !?

6 Feb 2010

One thought on “प्रेमचन्द्रमसँग प्रेम गफ

  1. कति सजिब हो लेख ! पढीरहदा दृश्यहरु मानसपटलमा सल्बलाइरहने। आर्ट मूभी हेरिरहे झैँ लाग्यो। interesting —-

Leave a Reply

Your email address will not be published. Required fields are marked *