विजयकुमार अब ब्लगर
पत्रकार विजयकुमार पाण्डेले चाँडै ब्लग थाल्दैछन्। सगरमाथा टेलिभिजनमा समाचार प्रमुख भूमिकामा रहेका उनले नागरिक दैनिक एक वर्ष पुगेको पार्टीमा शनिबार राति मिडियाकर्मी माझ यो कुरा सुनाएका हुन्। ‘म छिटै ब्लग सुरु गर्दैछु’, सोल्टी क्राउन प्लाजामा भएको पार्टीमा उनले पत्रकारहरूसँग भने। बाैद्ध धर्म गुरू रिम्पोछेहरूको सत्यसंग सार्वजनिक गर्न रूचाउने उनले नागरिक दैनिकका किरण भण्डारीलाई आफ्नो ब्लग लेखनलाई सघाउन पनि भनेका छन्।
‘तपाइँलाई मेरा कार्यक्रमबारे धेरै थाहा रहेछ। ब्लग लेख्ने बेलामा म सम्पर्क गछु’- उनले भने। त्यसअघि किरण दाइले विजयकुमारका पुराना कार्यक्रमका एक एक एपिस्योड बारे सुनाएका थिए।
ब्लग चलाउने योजना सुनाए पनि उनले ब्लगको डोमेन नेम चाहिँ भनेन्।
अरुबेला जमातमा कमै गफिने भनेर सुनेथेँ। नागरिक पार्टीमा उनी बढी गफिए। आत्मकेन्द्रित र घमण्डीको उपमा पाएका विजयकुमारले त्यसबारे पनि स्पष्टिकरण दिन भ्याए। दीपक भट्टराई, किरण भण्डारी, गोविन्द परियार, कमलकुमार सहितको पत्रकार टोलीले विजयकुमारसँग गरेका गफ निकै रोचक थिए। कमलकुमारले त विजयकुमारसँग धक फुकाएर मनैदेखिका कुरा राखे। विजयकुमार पनि के कम उनले भनिहाले- ‘म रिसाउँदिन्, न त म खुशी नै हुन्छु।’ सबै साथीहरुले उनको कुरा सुनेपछि भने- वाउ! वास्तविकता के हो उनीसँग काम गर्ने सहकर्मी वा परिवार सदस्यलाइ नै थाहा होला।
सधैँ गम्भीर देखिने विजयकुमारसँग आधा घण्टा गफिएपछि अन्य केहीले दीपक भट्टराईलाई जिस्काए- ‘विजयकुमारलाई पनि उडाइयो है!’ ऋषि धमलाजस्तै विजयकुमारबारे पार्टीमा केही नयाँ जोकहरु पनि सुनिए। ती यहाँ लेख्न मिल्ने छैनन्। 🙂