नयाँ किताब भन्छ: नेपालमा धनीले सबै चिज किन्न सक्छन्, सत्य पनि

Fri Sep 27 0 Comments

‘तिम्रो यो रकेर्डिङ ९५ प्रतिशत बकवास, झुठ र एक पक्षीय छ । …पख्… म देखाइदिन्छु…’, लेख्न थालेको पुस्तक पूरा नहुँदै एउटा अडियो सुनेपछि खोज पत्रकार/लेखक टम बर्जिसलाई ब्रिटेनका व्यवसायी मोहम्मद अमेरसीले धम्की दिए।

नेपालदेखि स्वीडेन र रसियादेखि उज्बेकिस्तानसम्म टेलिकम व्यापारका अदृश्य खेलाडी अमेरसी राजनीतिक पार्टीका चन्दादाता हुन्। उनको अर्को पहिचान लोकल्याणकारी काम गर्ने समाजसेवीको पनि छ। राजनीतिक नेता, सरकारी निकाय, कानुन र कतिपय मिडियालाई आफू अनुकूल उपयोग गर्न सक्ने शक्तिशाली व्यक्तिको धम्की पछि पत्रकार टम दोधारमा पर्छन्— अगाडि अब के गर्ने !

‘तिम्रा प्रकाशकले यो अडियो सुन्नुपर्छ। उनले थाहा पाउनुपर्छ कि तिमी कति फटाहा छौ भनेर’, ब्रिटेनका राजा चार्ल्सको संस्था र कञ्जरभेटिभ पार्टीका चन्दाता समेत रहेका शक्तिशाली व्यक्तिको धम्कीले धम्की अन्यौल बढाउँछ— अब पुस्तक प्रकाशन गर्ने कि नगर्ने ?

चर्को दवाब र अनिश्चयबीच बर्गिसले प्रकाशकलाई पाण्डुलिपी बुझाए। प्रतिष्ठित प्रकाशक कम्पनी विलियम कोलिन्सले फरक निर्णय गर्यो। राज्य शक्तिका खेलाडीलाई झुम्राको पुतली झैँ नचाउने अमेरसीका अश्लिल गाली र माथि उल्लिखित धम्की जस्ताको तस्तै राखेर लेखिएको गैरआख्यान पुस्तक प्रकाशन गर्दियो— कुकुल्यान्डः ह्वेर द रिच वन द ट्रुथ।

***
उन्नत लोकतन्त्र अभ्यास गर्ने देशहरुले लागू औषध कारोबार, कालोधन र भ्रस्टाचार रोक्न शक्तिशाली संयन्त्रहरु बनाएका छन्। ब्रिटेनको क्राउन अभियोजन सेवा जस्तै नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभाग जस्ता राज्य अंग खडा गरेको छ। तिनले साँच्चै प्रभावकारी काम गरेका छन् त ? यो किताबले भ्रस्टाचारको जालो केलाएको छ। नेपालको दूरसञ्चार व्यवसायमा सत्ता, शक्ति र पदमा बसेकाहरूले गरेको अनियमितताको बाक्लो पर्दा पनि उदांग पारिदिएको छ।

यो त्यही किताब हो, जसलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्री रहँदा २०८० चैत २३ मा खण्डन गरेका थिए।

‘कुकुल्यान्ड भन्ने पुस्तकमा लेखिएजस्तो केही पनि होइन। पुस्तकले टेलिकम भ्रष्टाचारमा उठाएका विषय कपोलकल्पित हुन्,’ उनले पापमोचनी एकादशीको दिन गोरखा पुगेर भनेका थिए।

त्यति बेला काठमाडौं नआइसकेको र एकाधबाहेक नेपालीका हातमै नपरेको बेला प्रधानमन्त्रीले खण्डन गरेको त्यो किताब अहिले काठमाडौंका पसलहरूमा उपलब्ध छ। परिचय र सन्दर्भ सामग्रीबाहेक ३२० पृष्ठको पुस्तकले राजनीतिक संरक्षणमा बिचौलियामार्फत् हुने दूरसञ्चार व्यवसायको अन्तरदेशीय भ्रष्टाचारको जालो केलाउँछ। वेब सिग्नलमार्फत् चल्ने मोबाइल टेलिकम विश्वभरि नै प्रमुख व्यवसाय बन्दै गएको समय नेपाल कसरी अन्तर्राष्ट्रिय विचौलियाको खेलमा पर्‍यो भनेर केस्राकेस्रा वर्णन गर्छ।

किताबले नेपालमा निजी क्षेत्रबाट टेलिकम कम्पनीहरूको स्थापना, सेयर खरिदबिक्री तथा नवीकरणमा भएका अनियमितताको उत्खनन् गरेको छ।

तत्कालीन राजा, क्रान्तिकारी माओवादी, देशभर संगठन भएका एमाले र कांग्रेसका सबै नेता भ्रष्टाचारविरूद्ध प्रतिबद्ध रहँदा कालोधनको अर्बौं रूपैयाँ कसरी नेपाल भित्रियो?

टम लेख्छन्, ‘४० घन्टा राजा बनेर दीपेन्द्रको मृत्यु भएपछि ज्ञानेन्द्रले श्रीपेच पहिरिए। राजाका ज्वाइँ राजबहादुर सिंहसहित परिवार सदस्यले व्यापारिक लाभ लिए। यसको गहिराइमा पुग्न हेटौंडाका एक जना महत्त्वाकांक्षी युवाको अवस्था हेर्नैपर्छ।’

हेटौंडाको सामान्य परिवारका अजय सुमार्गीको उदय र सम्पत्ति वृद्धिको मुख्य टर्निङ पोइन्ट युवराज दीपेन्द्रले गरेको भनिएको दरबार हत्याकाण्ड हो भन्ने दाबी किताबमा छ। किताबमा दीपेन्द्रको छोटकरी नाम ‘दीप्पी’ उल्लेख गरिएको छ।

हेटौँडामा हुँदा सुमार्गी परिवार सम्पन्न नभएको पुस्टि गर्न लेखकले स्थानीयसँग अन्तर्वार्ता गरेका छन्। ती रमाइला प्रसंगहरुले पाठकलाई किताब नछोड्न प्रेरित गर्छ। एउटा प्रसंगमा उनी लेख्छन्, पैसा अभाव हुँदा सुमार्गीकी आमाले किन्न चाहेको खशीको मासु छोडेर ब्रोइलर कुखुराको मासु किन्थिन्। गैरआख्यान पुस्तकमा तथ्यहरुको डिटेलिङलाई आख्यान र वर्णनात्मक दुवै शैलीमा हलौँ तर सशक्त ढंगले प्रस्तुत गरिएको छ।

***

दुई भाग र १७ अध्यायमा विभाजित पुस्तकले नेपालको दूरसञ्चार सेवामा व्यापारिक चलखेल ज्ञानेन्द्र शाह राजगद्दीमा बसेको समय अर्थात् सन् २००१ पछि सुरू भएको विवरण समय-तालिका बनाएर देखाइदिएको छ। अमेजनसहितका प्लेटफर्मले ‘बेस्ट सेलर’ सूचीमा राखेको पुस्तकले तत्कालीन राजा ज्ञानेन्द्रका ज्वाइँ टेलिकम व्यापारमा आएको पृष्ठभूमि केलाउँदै उनको जीवनशैली पेस गरेको छ। राजाका ज्वाइँ जति बेला पनि काठमाडौंका क्यासिनो र होटलमा बरालिने गरेको प्रसंग नेपाली पाठकका लागि रोचक लाग्छ।

किताबअनुसार तत्कालीन ‘मेरो मोबाइल’ को मातृ कम्पनी स्पाइस नेपालले सेवा सञ्चालन प्रक्रियामा ‘लेटर अफ इन्टेन्ट’ पाउँदा उक्त कम्पनीको स्वामित्व नेपालको खेतान समूह र भारतको मोदी ग्रुपसँग थियो। तर सेवा सञ्चालन हुनुअघि नै शाही कालमा मोदी ग्रुप फर्कियो। अपहरण र ज्यान मार्ने धम्की खेपेका राजेन्द्र खेतानले पनि कम्पनी छाडे। त्यसपछि स्पाइस नेपालले नयाँ मालिक पायो।

राजा वीरेन्द्रले अपुतालीमा पाएको छाउनीस्थित १५ रोपनी १ आना जग्गा छोरी श्रुतिलाई दाइजोस्वरूप दिएका थिए। दरबार हत्याकाण्डमा वीरेन्द्रको परिवारै मारिएपछि राजा बनेका ज्ञानेन्द्रले त्यही सम्पत्ति सन् २००२ मा आफ्नी छोरी प्रेरणालाई दाइजो दिए। तर त्यो सम्पत्ति वीरेन्द्रको भएको बताउँदै सरकारले नेपाल ट्रस्टको हुने निर्णय गरेको थियो। त्यही सम्पत्ति प्रेरणाको नाममा फर्काउन गोप्य कागजात मिलाउने काममा सुमार्गीको भूमिका रहेको किताबले भन्छ।

राजनीतिक नेता, न्यायालय र सरकारी अधिकारीहरूसँग उठबस गर्ने शक्तिशाली पहिचान स्थापित गरेपछि ज्ञानेन्द्रका ज्वाइँले सुमार्गीलाई पत्याएको र त्यसपछि टेलिकम व्यवसायीका रूपमा उनको उदय भएको विवरण लेखकले दिएका छन्।

अब प्रश्न उठ्छ, ब्रिटिस लेखकले लन्डनबाट प्रकाशन गरेको किताबलाई हाम्रा प्रधानमन्त्रीले किन खण्डन गर्नुपरेको हो?

यो प्रश्नको जवाफ पुस्तकको ‘एक्स वाई’ अध्यायले दिएको छ। किताबअनुसार अन्तरदेशीय टेलिकम भ्रष्टाचारको घेरामा पुष्पकमल दाहाल पनि छन्। लेखकले नेपालको टेलिकम व्यवसायमा भएको अनियमितता खोतल्ने क्रममा माओवादी अध्यक्ष प्रचण्ड, व्यवसायी सुमार्गी र तत्कालीन राजाका ज्वाइँ जोडिएका प्रशस्त विवरण पुस्तकमा राखिदिएका छन्।

पुस्तकमा एउटा प्रसंग लाजिम्पाटको प्रचण्ड निवासको छ। प्रसंग पुरानै भए पनि त्यो घर कसरी खरिद गरिएको थियो र खरिद गर्ने पैसा कहाँबाट आएको थियो भन्ने विवरण पाठकलाई रोचक लाग्छ। प्रचण्ड उत्कृष्ट ब्रान्डका रक्सीको सोखिन भएको र त्यो कमजोरीको फाइदा उठाउँदै सुमार्गीले त्यहाँ ब्रान्डेड  रक्सीको खोलो बगाएको विवरण किताबमा छ।

परम्परागत शक्ति राजदरबार कमजोर हुँदै गएको र छापामार युद्धबाट माओवादी राज्यसत्तामा आएको त्यो समय नेपालको आधुनिक इतिहासमै एक जटिल र गहिरो संक्रमणकाल थियो। त्यही समय टेलियासोनेरा नेपाल प्रवेशका लागि माओवादीसँग राम्रो सम्बन्ध बनाउन भरपर्दो सूत्रधारको खोजी गरिरहेथ्यो। अजय सुमार्गीले टेलियासोनेराका सल्लाहकार तथा टेलिकम बिचौलिया मोहम्मद अमेर्सीलाई सरकार सञ्चालक, माओवादी शीर्षनेताहरूसँग परिचय गराइदिएपछि मात्र नेपालमा अन्तर्राष्ट्रिय टेलिकम विचौलियाको उद्देश्यले मूर्तरूप पाएको तथ्य किताबले उजार गर्छ।

अमेर्सीकै आशीर्वादमा हेलो नेपालमा २० करोड डलरभन्दा बढी लगानी आएको र त्यो लगानी सुमार्गीको राजनीतिक प्रभाव कायम राख्न र माओवादी नेताहरूलाई रिझाउन प्रयोग गरिएको लेखकले दाबी गरेका छन्।

***

यो नेपालको विषयमा मात्र लेखिएको किताब होइन। पुस्तकको ३२० मध्ये ४५ पृष्ठ मात्र नेपालको भागमा परेको छ। बाँकी भागमा रसिया, स्वीडेन, ब्रिटेन लगायतका युरोप र तजाकिस्तानजस्ता एसियाली देशको टेलिकम व्यापारमा अन्तर्राष्ट्रिय गिरोहको चिरफार गरिएको छ। लेखकले अवैध कारोबारको केस्राकेस्रा केलाउँदै विश्व अर्थ व्यवस्था र आधुनिक युगमा कसरी भ्रष्टाचार तथा राजनीतिक प्रभावको दलाली भइरहेको छ भन्ने वर्णन गरेका छन्।

पुस्तकमा केही कमजोरी पनि छन्। कतिपय घटनाको सूचना स्रोत उल्लेख छैन। विषय एकोहोरो अघि बढ्छ तर स्रोत नदेखिँदा कतिपय ठाउँमा पाठकमा संशय पैदा हुन्छ। हुन त अतिगोप्य र वैध-अवैध सुरक्षा घेराभित्रबाट सूचना प्राप्त गरेकाले कतिपय विषय गोप्य राख्नुपरेको स्पष्टोक्ति उनले सुरूमै दिएका छन्। ‘यो पुस्तकमा धन्यवादका हकदार ती छन्, ती सबैकाे नाम म यहाँ लिनै सक्दिनँ,’ उनले सुरूमै भनेका छन्। टमले सार्वजनिक रूपमा आभार प्रकट गरेका व्यक्तिहरूमध्ये न्यूवर्क टाइम्सका पत्रकार भद्र शर्मा पनि एक जना हुन्।

अन्तर्राष्ट्रिय विचौलियाको प्रभावमा राजनीतिक नेतृत्वले गरेका नीतिगत निर्णयहरुको फेहरिस्त केलाएका लेखकले निकै साहसपूर्वक स—साना र दिलचस्पी तथ्यहरु पाठक समक्ष राखिदिएका छन्। उनले खुलस्त पारिदिएका छन् नेपाल एउटा यस्तो देश हो जहाँ दलालको प्रलोभन, धाकधम्की, राजनीतिक शक्ति, मिडिया, सोसल मिडियाको बहसमार्फत सत्यको सिर्जना हुन सम्भव छ। सत्यको खरिदि बिक्री सम्भव छ। किताबको नाम ‘जहाँ सत्यको मालिक धनाढ्य छन्’ भन्ने विषय पुस्टि गर्न टमले तथ्यका एक एक थोपा संकलन गरेका छन्। स्पष्ट देखाइदिएका छन्— नेपालमा धनीहरुले सबै कुरा किन्न सक्छन्। सत्य पनि।

यो किताब भ्रष्टाचारको खतरनाक परिणाम तथा त्यसले लोकतन्त्रमा पार्ने गम्भीर असरबारे एउटा सशक्त चेतावनी हो। राज्यशक्ति र सम्पत्तिको दुरूपयोग बुझ्न चाहनेहरूका लागि यो एउटा दस्तावेज नै हो।

पुस्तकः कुकुल्यान्डः ह्वेर द रिच वन द ट्रुथ।
लेखकः टम बर्जिस
प्रकाशकः विलियम कोलिन्स
मूल्य: ९६० रुपैयाँ
विधाः नन फिक्सन

Leave a Reply

Your email address will not be published. Required fields are marked *