नेपाली निरासाका जरा
‘यो देशको भविष्य छैन! जति गरे पनि यहाँ केही हुन्न हेर्नोस्!!’ आजकाल जताततै सुनिने वाक्य हुन् यी। कसैले कसैको बारेमा राम्रो भन्यो भने कतै त्यो मानिस मरेछ कि भनेर झस्किनुपर्ने हुन्छ। नेपाली समाज किन यस्ता अभिव्यक्ति र हीनताले व्याप्त छ ? नकारात्मक सबै नराम्रा हुँदैन तर नेपालीको नकारात्मकता, नैराश्य, इर्श्या, खुच्चिङमा रमाउने बानी र स्वार्थीपनमा भेद छुट्याउन जरुरी छ। अङ्ग्रेजीमा नेगेटिभिज्म, पेसिमिज्म, सिनिसिज्म र जेलसीका थुप्रै तत्वहरु नेपालीहरुबाट अर्कै किसिमले अभिव्यक्त हुन्छन्। यहाँ निरासाभित्र अर्काको कामलाई होच्याउने, केही हुन्छ भन्ने विश्वास नगर्ने, अर्काको बिग्रँदा आनन्द मान्ने, राम्रा कामको प्रशंसा नगर्ने, अगाडि केही नभन्ने पछाडि कुरा काट्ने प्रवृत्तिलाई हेरौं।
हीनताको स्रोत
एशिया अझ दक्षिण एशियाली परिवेश सकारात्मक र नकारात्मक दुवै ‘वान वे’ छन्। भगवान्, इश्वर, देवता जे हुन्, स्तुति मात्र गर्नुपर्छ। भक्तहरु अज्ञानी, पापी, अशक्त हुन्छन्- हीनता सकार्नुपर्छ, याचना गर्नुपर्छ, माफी माग्नुपर्छ। हामी कहाँ मालिक बाहेक अरुको प्रशंसा गर्नै संस्कार नै विकास भएको छैन। हरेक समूह र संस्थाका कमजोर तल्लो तहका व्यक्तिको आलोचना गर्न जति भीड लाग्छ, मालिकको प्रशंसा गर्नेको उस्तै धुइरो। अन्धप्रशंसा र आलोचनाको यो फेनोमेना बाबुआमा र छोराछोरीसम्म लागू हुन्छ।
जति नराम्रो, उति राम्रो
विकास सहायताका उद्देश्यबारे मतभेद भए पनि के कुरा पक्का हो भने जति असक्षम र विपन्न देखियो त्यति नै सहायताका निम्ति योग्य ठहरिन्छ। नेपालमा होस् या अन्यत्र कही बाह्य सहयोग आएर विकास हुन धेरै लगानी र समय चाहिन्छ। साहयतालाई जनस्तरसम्म पुर्याउने संयन्त्र चाहिन्छ र धारणा पनि। नेपालमा त्यो थिएन। यसले विकासको काम त भएन नै। हीनता थप्यो। हाम्रो देशले, देशका विज्ञ र प्राविधिकले केही गर्न सक्दैनन्। मद्दत गर्न विदेशी पैसा र सेता मान्छे नै चाहिन्छ भन्ने धारणा सबैतिर पुग्यो। आत्मसम्मान हरायो। मनोवैज्ञानिकहरु आत्मसम्मानको अभावलाई नकारात्मकताको एउटा कारण मान्छन्। आत्मसम्मान नहुनेले स्वार्थ हुञ्जेल चाकडी गर्छ तर सम्मान गर्दैन। स्वार्थ पूरा हुनासाथ गाली गर्न थाल्छ। हाम्रो समाज आज त्यस्तै चरित्रले ग्रसित छ।
उल्फाको धन- चुलिँदो इश्र्या
दान र भ्रष्टाचारसँग जोडिएको नकारात्मकता बढाउन सघाउने अर्को पक्ष हो- इजी मनी। नेपालीमा उल्फाको धन। अवसर पाएका, पहुँच भएकाले विदेशी सहायताबाट समेत सजिलोसँग पैसा कमाइरहेका छन्- घुस खाएर होस् वा धेरै तलब खाएर। केहीले सजिलोसँग पैसा कमाएको अरुलाई पनि पैसा कमाउन मन लाग्छ। सबैलाई त्यस्तो अवसर प्राप्त हुँदैन। मेहनत गरेर कमाएको धनमा साह्रै दुस्टहरु बाहेक अरुले आँखा लगाउँदैनन्। र त्यो इर्श्याको विषय हुँदैन। मिहिनेत बिनाको उपलब्धिले अरुमा इर्श्या जन्माउँछ। यसरी धन कमाउनेहरुको ध्याउन्न पनि आलोचना गरेर आफूतिरबाट अरुको ध्यान हटाउनु नै हुन्छ।
आस्थाको संकट
अहिलेको समाजमा आस्थाको संकट छ। बर्लिनको पर्खाल ढलेदेखि नै बाम आस्था संकटमा परेको हो। कुनै नयाँ वाद या नयाँ आस्थाको जन्म हुन समय लाग्छ। अहिले आस्था फगत उपभोग भएको छ। धर्म र राजनीति दुवै क्षेत्रको नेतृत्व वर्गले निकास देखाउन सकिरहेका छैनन्। नयाँ युग निर्माणको अस्तव्यस्ततामा सायद बढी नै नकारात्मकता र निरासा उगेलिरहेछौं हामी।
शिक्षित जमात नकारात्मक हुनुको कारण स्पष्ट छ। अहिलेका बहुसंख्यक शिक्षितहरु पञ्चायतकालीन उपज हुन्। उनीहरुमा ‘अरुलाई भन्ने आफूले नगर्ने’ व्यवहार व्याप्त छ। अझै निजी स्कूलहरुको उत्पादन मूलप्रवाहमा आउनै बाँकी छ। बाध्यतामा बाबुआमा ठग्ने शिक्षा व्यापारीहरुसँग उनीहरुले समाजबाट कसरी बदला लिनेछन्, त्यो हेर्न नेपाल तयार रहे हुन्छ। निजी स्कूलमा पढ्न पाउने र नपाउनेबीच उत्पन्न दूरीले शिक्षित समूहरुबीच इर्श्या र नकारात्मकता अझ बढ्नेछ। स्रोतको न्यायपूर्ण वितरण र नयाँ अवसरहरुको सिर्जना नगरी नकारात्मकता घट्दैन। समग्रमा हाम्रो नकरात्मकरतालाई असन्तुलित अर्थ राजनीतिको परिणामकै उपजका रुपमा हेर्न सकिन्छ।
धनी देशहरुमा ९० को दशकको युवा पुस्तका ६० को दशकको युवा पुस्ता धेरै निरास मानिएको छ। पढ्न जान मन नगर्ने केटाकेटीहरु बढिरहेछन्। नकारात्मक टिप्पणीको एउटा सकारात्मक पक्ष के हो भने टिप्पणीकर्ताहरु यथास्थितिप्रति चासो राख्छन्। परिवर्तन चाहन्छन्। उनीहरुमा केही गरौं भन्ने भावना हुन्छ। मौनताको संस्कारमा बस्दैनन्। भनिन्छ हरेक कचकचका पछाडि कर्तव्यबोध हुन्छ।
टीका भट्टराईको यो लेख हिमाल खबरपत्रिका ,२०६० को दशैँ अंकमा प्रकाशित छ।