जगदीश दाइ अब सन्त बन

Tue Feb 1 0 Comments
जगदीश दाइ।  २००८ को डिसेम्बरमा।

डेटिङका लागि चोभार हिँडेका जोडीहरु उकालो लाग्दै थिए। अलि परबाट मैतिर आइरहेका युवामा यौवनका दुई फरक रंग बिलिन भएर बन्ने तेस्रो उमंगको भाव झल्किरहेथ्यो। निरन्तरको झरिपछि खुलेको काठमाडौंको आकाश शनिबार अपराह्न छ्याङ्ङ निलो देखियो। एकैछिन मैले डाँडाबाट उत्तरको काठमाण्डूलाई हेरेँ। घरहरुको जंगलले खुजुमुज्ज काठमाडौं कम्प्युटर मदरबोर्ड जस्तो देखियो। ‘डङ…ड्याङ…’ गेट लगाउँदा निस्केको आवाजले शान्त वातावरणलाई बिथोल्यो। मैले लेखक जगदीश घिमिरेको गेट फेरि खोलेको थिएँ, अनि बन्द गरेको थिएँ।

एकैछिन्‌ सहरी जीवनबाट भागेर अफिसलाई बेवास्ता गर्दै जगदीश दाइकोमा पुगेको थिएँ। र, उसैगरी कसैको दुईपांग्रे पछाडि आफूलाई राखेर चोभारसँग विदा भएको थिएँ। चोभारको हावा स्पर्श नै फरक थियो। सहरको कोलाहाल र धुँवा भन्दा भिन्नै। शान्त, मधुर। ओरालो झर्दै गर्दा बौद्ध बिहारमा भएको बुद्ध स्तम्भसँग आँखा जुधे। फर्केर हेरेँ। यसअघि मैले ख्याल नगरेको त्यो थेरबादी बिहार रहेछ। नेपालमा थेरबादी परम्परा अपनाउनेहरु असाध्यै थोरै छन्। त्यही भएर थेरबादी बिहार पनि थोरै भएका होलान्। संसारमा बुद्धिज्मलाई अनेकौं स्वरुप र परम्परामा अभ्यास गर्नेहरू छन्। मलाई थेरबादी भिक्षुहरु विशेष लाग्छन्। उनीहरु बुद्धविद्या बुद्धकै समयमा जस्तै अनुशासन, उही शैलीमा अभ्यास गर्छन्। बाह्य विषयलाई छाड्ने हो भने तिनीहरु संसारकै बढी शक्तिशाली र अधिकतम असल व्यक्ति हुन्। हो, उनीहरु आफूमा निहीत शक्तिलाई बाह्य रुपमा देखाउँदैनन्। आफूमा निहीत शक्ति ध्वंश वा चामत्कारिक कार्यका लागि प्रयोग गर्दैनन्। र तपाइँसँग भेट भए असाध्यै विनित स्वरमा पेश भइदिन्छन्।

कीर्तिपुर प्रवेश गर्ने बाटो नजिकै आइपुग्दा मनले फेरि अर्को जम्प गर्‍यो। दिमागले टियुका मेरा गुरु भिक्खु शंघरक्षतीको इमेज उतार्‍यो। श्रीलङ्का पढेर फर्केका उनी मैले चिनेका एक थेरवादी भन्ते हुन्। एकदिन भन्ते (पाली भाषामा भिक्षुलाई भन्ते भनिन्छ) ले धरहरा मुन्तिर भेला भएका आफ्ना शिष्य र केही विद्यार्थीको सानो समूहलाई सम्बोधन गर्दै भनेथे- ‘भ्रमका अनेकौं तहहरु छन्। भ्रमका मोटामोटा ढिस्का त बुद्धिले नै देख्छ र बुद्धिले पहिचान गरेको भ्रम बाह्य विषय हो। तीक्ष्ण बुद्धिको महत्व अझ छ। अनुभूतिमार्फत् त्यसको पहिचान गर्न सके सम्यक मार्गमा त्यसले लाभ दिनेछ।’ सायद त्यही भएर होला भन्ते हामीसँगै लाइब्रेरी नजिकैको खुला क्यान्टिन जान्थे। सेल, बारा र चिया खान्थे तर आफ्नो विषय बाहिर एउटा कुरा पनि गर्दैनथे। बोल्दैनथे। मानौं उनलाई संसार हल्लाइरहेका ठूल्ठूला बहसका विषय केही थाहा छैन। वा ती सबैको अधिकतम शक्ति तलदेखि माथिसम्मै थाहा छ। र, उनी कुरो बुझेर चुप छन्। उनको त्यो सरल चुपचाप शैलीको म प्रशंसक बनेँ। हुँ।

***
एउटा पुस्तक सार्वजनिकको कक्टेल पार्टीमा पछिल्लो पटक भेटिएथे। ढाडमा काम्रो र मुखमा मास्क लगाएर हिँड्दा आँखा भित्र पसिसकेजस्तो देखेपछि लागेथ्यो जगदीश दाइलाई क्यान्सरले झनै च्यापेछ। त्यसपछि मिडियाकर्मी भएर हैन एउटा सामान्य मान्छे भएर भेट्न गएको। शरीर पल्टाएर घाम तापिरहेको अवस्थामा मैले भेटेँ। ‘हिजोआज अलिक ठिक छु। तन्दरुस्त छु’, उनले सुनाए। यो पटकको भेटमा धेरै बाैद्धिक कुरा भए। सिद्धान्तदेखि सिद्धान्तकारसम्म। राजकुमार सिद्धार्थदेखि उपन्यास पात्र सिद्धार्थसम्म। सम्यक सम्बुद्धदेखि, हर्ममा हेस्से र टीएस इलियटसम्म। ‘आर्ट अफ लिभिङ’का लेखक विलियम हार्टदेखि ‘आर्ट अफ लिभिङ’ सिकाउँछु भन्ने रवि शंकरसम्म। अनि गीता, वेद, उपनिशददेखि कुरान र बाइबलसम्म। कति कुरा जीवनमा नउतारे पनि म उहाँसँगै गफिएँ। गफका क्रममा उनको अनुहार उज्यालो बन्यो। आँखा केही चम्किला देखिए। एकै छिन् भए पनि जगदशी दाइ खुशी भए। त्यो मेरो सन्तुष्टि! र, त्यो असिम पारिवारिक स्नेह देखेर लाग्यो- प्रेम पाउने मामिलामा उनी संसारका थाेरै लक्कीमध्ये एक होलान्।

जगदशी दाइसँगै बसेर घाम ताप्दै चिया पिइरहँदा अरू केही सोच र समझहरूमा मन रूमलियो। अर्को चित्त जाग्यो। प्रेम र स्नेहको अधिकतम शक्ति भन्नु जीवन अघि घचेट्ने बल बढाइदिनु त होला। तर त्यसले मृत्युलाई छेक्न वा मृत्युको असीम पीडा जितेर शान्त र खुशी पार्न सक्दैन। अनि मैले गरिरहेको यो बाैद्धिक गफ (अहिले गरिरहेको लेखन पनि) बुद्धिको तहमा भइरहेको अर्को चिन्तन मननको बाह्य प्रकटीकरण फर्म मात्रै त हो। सायद, यसको अधिकतम क्षमता सामाजिक प्रतिष्ठा, केही पैसा आर्जन वा बाैद्धिक चिन्तनसम्म हुनसक्छ। अन्त्यतिर र अन्तिम यात्राको प्रस्थानको पीडा अघि बुद्धि तहको चिन्तन, बाह्य प्रतिष्ठा, भौतिक वैभवको के अर्थ हुनु र ? त्यसैले मेरा प्रिय लेखक दाइ अब सन्त बने हुन्थ्यो नि। इन्द्रिय सुख र बुद्धिको स्तर भन्दा गहिराइमा पुगेर। चेतनाको इन्द्रियातित अध्यात्मिक आनन्दको स्वाद चाखेर। घरपरिवार त्यागेर हैन जीवन-संसारप्रतिको सम्यक मार्गको इनर जर्नी खोज गरेर।  गेरु बस्त्र लाएर हैन; ऋग्वेदमा उल्लेखित अध्यात्मको सारांस एक्स्पोलर गरेर- योगी स्वाधी विपश्यती:! शन्त पश्चयती भुवन:!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *