पुस्तकालय यात्रा

Thu Jan 27 0 Comments
ज्ञानमार्ग विद्यालयका सञ्चालक समिति, प्रधानाध्यापक, शिक्षकसँगको बैठक। तस्विरः नारायण श्रेष्ठ

‘हुन्छ हुन्छ सिधै कलंकी आए हुन्छ’, सुन्धारा कार्यालयबाट निस्कदै गर्दा मैले नारायण श्रेष्ठसँग फेरि मिटिङ पोइन्ट फिक्स गरेँ – ‘श्यामा आयल स्टोरमा पर्खौं।’ मुम्बइबाट यसै साता फर्केको स्याटेलाइटसँग कलंकी पुग्दा भोला शर्मा पूर्वनिर्धारित स्थानमै भेटिए। हामीबीच औपचारिकताको पर्खाल नै के छ र ! तै पनि भनिहालौं- ‘नमस्ते ! नमस्ते !!’ हामी साझा सावल गर्ने साथी नारायण श्रेष्ठको गाउँ घ्यालचोक, गोरखा जाँदैछौं।

कलंकीको चोकमा एकछिन चुपचाप बस्यो भने खलासीहरुले बोकेरै गाडीमा चढाउने खतरा हुँदो रहेछ। ‘खलासी र नेता उस्तै हुन् है यिनको बोलीको ठेगान हुँदैन!’ टिकटअनुसार सिट नदिने खलासी शैलीप्रति स्याटेलाइटले टिप्पणी गरिरहँदा हामी चढेको गाडी गजुरी कटिसकेको थियो। आरामदायी यात्राको अनुभव संगालेका पूर्व प्रशासक भोला शर्मा, बीबीसी मिडिया एक्सन व्यवस्थापनमा साझा सवालको यात्रा गर्ने नारायण र पूर्णकालीन विद्यार्थी रहँदै अन्तरदेशीय/महादेशीय हवाइ यात्रा गर्ने स्याटेलाइटसँग माइक्रोबस चढेको। हालत पतला। उफ! श्वास नै रोकिएला जस्तो। पेट बटारिएर बमिट हुने खतरा बढ्यो। तै पनि स्याटलाइट भारतका एकजना प्रख्यात निर्देशक रजनीकान्तका जोक भन्न छाड्दैन बा। ‘ठिक छ; ठिक छ जोकहरुले अप्ठ्यारो यात्रालाई भुलाइरहेछन्। यी जोकको संगालोमा एउटा नेपाली कथानक चलचित्र बनिहाल्छ नि’, सुभाष घइको विद्यार्थीलाइ आइडिया दिम न्। 😃

‘सधैँ त नरायणजीले साझा सावलै गरेको हुन् त्यो एक दिन बाहेक’, मैले हिरोइन रेखा थापासँगको भएको एपिसोडबारे दूरको रमाइलो मिसाइदिएँ – ‘रेखासँगको सवाल चाहिँ साझा थिएन है।’ 😃 नानीदेखि लागेको बानी जहाँ गए नि उस्तै। त्यो बेला आरआर कलेजमा पढ्दाकै जस्तो मधुरो बोल्ने, धेरै मुस्काउने र चाहिउँदो प्रतिक्रिया दिने शैलीमा पेश भइ त हाल्यो। मतिर हेर्‌यो र फेरि मुस्कायो। ‘संस्कृतिमा त सिनेमा परिहाल्छ नि। रेखा थापा सांस्कृतिक पुनर्संरचनाभित्र परेकी हुन्।’

हामी गफिँदैछौं बेप्रवाह। भोलानाथ शर्मालाई बोर लाग्यो कि ? ‘छैन ! छैन !!’ आँखा निदाए पनि ६० वर्षे युवाका कान जागै रहेछन्। 😃

***
साँझ झमक्क हुने बेलामा त्रिशुलीको १ सय ७५ मिटरको झोलुङ्गे पुल तर्दै हामी गोरखा जिल्ला टेक्दा नारायण श्रेष्ठको सेलिब्रेटी छविलाई नमस्ते नमस्ते गर्नेहरु धेरै देखिए। त्रिशुली तरेपछि स्याटलाइट एक्कासि गायब भयो।

‘मुम्बइ से आए हुये मेरे दोस्त… किधर गए…? !! 😃 मैले उसलाई हिन्दीमा खोजेँ।

‘टर्चर! टर्चर!!’ 😃 उ त इङ्लिसमा पो भेटियो। 😃

‘मुम्बइसे आये हुवे दोस्त… दोस्तको सलाम करो
रातको खावोपिवो…. दिनको आराम करो…’
😃 😃

बाटाभरि हाम्रा यस्ता बेतुकका गफ सुन्नेहरुले ठाने होला सिनेमा, बुक र राजनीतिका बखान गर्ने गफाडीहरु विश्वज्योति सिनेमा हलतिर दशका तीस…, दशका तीस… भन्दै टीकट ब्ल्याकमा बेच्नेहरु होलान्। के मतलब ! मिनेट मिनेटको खबरपछि दाैडेको त हैन नि। हामी गन्तव्य र जिम्मेवारीबारे स्पष्ट थियौं। जति नै हावा गफ गरे पनि ज्ञानमार्ग उच्चमावि, घ्यालचोकमा पुस्तकालय बनाउने विषय हाम्रो मनमा थियो, गफको केन्द्रमा थियो अनि व्यवहारमा थियो। साँझ प्रिन्सिपसल रामशरण सरको डेराको सामान्य मेजमान मलाई गज्जब लाग्यो। सहरमा पीआरवाला चेपारो घस्नेहरुदेखि वाक्क भएर होला गाउँका निष्छल अनुहार देख्नासाथ श्रद्धा बढ्दो रहेछ। सम्मान बढ्ने रहेछ। खुशी बढ्ने रहेछ। म पुगेका धेरै गाउँहरुमध्ये घ्यालचोक साँच्चिकै सचेत मान्छेहरुको बस्ती। काठमाडौं फर्कनुअघि हुस्सुले छोपेको चिसो बिहानीमा प्रिन्सिपल रामशरण दुवाडी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य र शिक्षकहरु सहितको मिटिङसँगै नयाँ बन्ने पुस्तकालयभित्र दराज, टेबल, कुर्सी राख्ने तौरतरिका अनि त्यसको सञ्चालनको रफ खाका बन्यो। फर्किने बेलामा त्रिशुलीको झोलुङ्गे पुल हल्लिएर मेरो सातो लियो। मनैमन सोचेँ- कुनै दिन यो हल्लिने पुलमाथि किताबका कार्टुन बोकेर फर्कनेछु।

बगी जाने पानीजस्तै; हुँदो रैछ माया पनि
कहिले घाम कहिले पानी; आधाआधी जिन्दगानी

(गीतकार नारायणलाई यो गीतबाट आउने सबै रोयल्टी ज्ञानमार्ग विद्यालयको पुस्तकालयलाई। संगीत र स्वर मिसाएको पूर्ण गीत चाहिँ तपाइँलाई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *