बद्‌लिन्छ जीवन

Wed Dec 29 0 Comments

त्यो बेला माछा, भ्यागुता र सर्पहरु मेरा मुख्य दुस्मन थिए। आमाको अर्ति सुन्ने/बुझ्ने धैर्यता कहाँ !? भेट्यो कि मारिहाल्यो। सम्झँदा पनि जिउ जिरिङ्ग हुन्छ। त्यो दिन मैले कालो गोमन समातेँ। गोमन मुसाको दुलोभित्र तेर्सिर बसेको रहेछ। धान निकाल्न दुलोमा हात हालेको। गोमन च्याप्पै ! बरफजस्ता चिसा सर्प त पहिला पनि समातेको थिएँ तर गोमन कालको अर्को रुप थियो। उ फर्किन भ्याएको भए त्यैबेला चेट् ! तर मेरो राक्षसी क्षमतासँग त्यसको के लाग्थ्यो ! डेढ फुटको लौरोले क्षणभरमै त्यसको प्राण पखरु उड्यो। स्कूल जान खास रहर नलाग्ने त्यो समयमा गुच्चा खेल्नु, पावा (भ्यागुता) र सर्पहरु खोजी खोजी मार्नु अनि माछा समातेर पल्लो घरको अँगेनोमा पोल्नु मेरा फेब्रेट कर्महरु थिए।

***
‘नाइट लाइफ’ बिनाको जीवन के जीवन ! डिस्को र डान्स बारमा पो छ संसार आरआरमा बीए एड्मिसन हुँदा पुग्दा यस्तै सोचहरु थिए। सोचअनुसारको व्यवहार हुने नै भयो। नाम र दाम बाहेकको जीवन के जीवन ! ब्युटी ! पैसा !! अमेरिका !!! ती पो मान्छे यी गाउँका गोपीक्याँचलाई के थाहा जीवनको मस्ती ! केहीलाई छाडेर बाँकी कोही मेरो आँखामा थिएनन्। एक दिन हाम्रो ग्रुपका साथीहरु ल क्याम्पसको गार्डेनमा घाम तापिरहेथ्यौं। केही न केही चकचक गरिरहनु पर्ने म गार्डेनकै अम्बाको रुख चढ्न पाले दाइको आँखा छल्ने कोसिस गर्दैथिएँ। ब्याचलर लास्ट एयरको मार्कसिट आएछ। ग्रुपका सबैको फर्स्ट डिभिजन ! त्यो खुशी साट्न साथीहरुले आ-आफ्ना ममी-बाबालाई फोन गरे। मैले हरि दाइलाई बिराटनगर फोन लाएँ। उ खुशी भयो, बधाई दियो। त्यो घमाइलो बिहानीमा हामीले ल क्याम्पसको सुन्दर गार्डेनमा चिया पियौं। घामले फागुनको कमजोर बनिसकेको चिसोलाई धपाउँदै थियो। हामीले एउटा कलेज यात्राको समाप्ति गर्यौंा।

***
बिहानै उठ्दा मोबाइल इम्बक्समा दुईटा बर्थ-डे शुभकामना रहेछन्। फेरि जन्मदिन फर्किएछ। म एक वर्ष बुढो भएँ अर्थात् एक वर्ष मृत्यु नजिक पनि। चिन्ता लिइरहनु पर्ने वा खुशी उत्सव मनाउनुपर्ने कारण हैन; यो रियलाइजेशन मात्रै हो। कुनै बेला जन्मदिन मनाउन क्याफेहरु फेब्रेट थिए। अनि आज ? मिति उही हो तर बेकरी वा वाइजन क्याफे धाउने स्वभाव मसँग रहेन। र त्यो ठाउँ कल्याणकारी काम र अध्यात्मले लिएकोमा चुपचाप छु। जीवनको उज्यालो र अँध्यारोबीचको एउटा अदृश्य ‘ग्रेलाइन’मा उभिएर अनुभव गरिरहेछु- मान्छे बाहिरभन्दा छिटो भित्र बदलिरहेछ। ‘तिमी कस्तो आकास छुने शैलीमा चेञ्ज भएको!’ अमेरिका अघाएर पाँच वर्षमा फर्केकी विद्याको बुझाइ। गार्लिक क्याफेमा मैले हिजो उसलाई नसोधेको अर्को प्रश्न हो- ‘चेञ्ज भएर मेरो जीवनमा के थपिएछ ? अनि खोइ त अमेरिकाले दिएको जीवनको उज्यालो ?’

माछा र भ्यागुताको त्यो दुस्मन आज म हैन र हिजोको कलेज विद्यार्थी अब म रहिनँ। संसारकै शक्तिशाली जियाबाओको सत्ता त के समस्त भौतिक जगत्‌का एक एक अणु परिवर्तनशील छन्। बुद्धि लाएर हुने परिवर्तन (सम्पत्ति, सत्ता वा कृत्रिम चार्म) मान्छेले आफू अनुकूल बदल्न कोसिस गर्ला। तर संसारकै धनाढ्य बिल गेट्सको सम्पति, जियाबाओको सत्ता वा अमेरिकी प्रशासनको सुपरपावरले मान्छेको सामान्य केश फुल्ने स्वभावलाईलाई समेत रोक्न सक्दैन। बूढो हुन र मर्नबाट जोगाउने तागतै राख्दैन। त्यसैले स्वीकार्य छन् संसारका ठूल्ठूला भ्रम र जीवनका वास्तविकता अनि जगत्‌का सबैखाले दुःख।

Leave a Reply

Your email address will not be published. Required fields are marked *