भूमध्यरेखामाथि विजयकुमार

Sun Nov 7 0 Comments

यस्तो स्वरुपमा आउँदैछ रवीन्द्र मिश्रको भूमध्यरेखा। तस्विरः सजना

बीबीसी नेपाली सेवामा खरा प्रश्न गरेर नेतालाई हायल कायल पार्ने रवीन्द्र मिश्रको पुस्तक भूमध्यरेखा सार्वजनिक समारोहमा पत्रकार विजयकुमार र सुधिर शर्माले टिप्पणी गर्ने भएका छन्। १४ नोभेम्बरमा पुस्तकलाई माओवादी नेता बाबुराम भट्टराई र उपेन्द्र महतोले जाउलाखेलको मोक्ष क्याफेमा सार्वजनिक गर्दैछन्। रसियाका व्यस्त तेल व्यापारी उपेन्द्र महतो पुस्तक विमोचन गर्न भनरै एक दिनको समय लिएर काठमाडौं आउन लागेका हुन्।

किन यत्रो भव्य तयारी नि ? ‘भट्टराई र महतो दुवैले मेरो खुलापत्रको जवाफ फर्काएको भएर’ मिश्रको भनाइ छ।

कुनै बेला रवीन्द्र मिश्र बीबीसीको लन्डन कार्यालयबाट नेपाल म्यागेजिनका लागि स्तम्भ लेख्थे। त्यही क्रममा उनले भट्टराई र महतोलाई खुलापत्र पठाएका थिए। ती पत्रको जवाफ दुवैले फर्काएका थिए। माओवादी द्वन्द्व चुलिँदै गएको बेला भूमिगत नेता भट्टराई र मिश्रबीचको चिठ्ठी जुहारी निकै रोचक बनेको थियो।

पुस्तकमाथि टिप्पणी गर्ने विजयकुमार र शर्मा दुवै मिश्रले स्तम्भ लेख्दाको समयका नेपाल म्यागेजिनका सम्पादक हुन्।

भूमध्यरेखा बिक्रीबाट प्राप्त सबै लेखकस्व मिश्रले चितवन कान्दाको चेपाङ समुदायलाई प्रदान गर्दैछन्। उनले एउटा पुस्तक बिक्रीबाट २८ रुपैयाँ पाउँछन्। प्रकाशक फाइन प्रिन्टले पनि साथ साथ मिलाउँदै भूमध्यरेखाको एक प्रति बिक्रीबाट २८ रुपैयाँ नै चेपाङ समुदायलाई दिने निर्णय गरेको छ। भूमध्यरेखाको बिक्रीबाट लेखक र प्रकाशक दुवैबाट गरी ५६ रुपैयाँ चेपाङ समुदायले पाउँदैछन्।

पत्रकारितालाई जीवनवृत्ति बनाए पनि कल्याणकारी कामलाई सँगसँगै लगिरहेका मिश्र हेल्प नेपालका संस्थापक अध्यक्ष समेत हुन्। १० वर्ष अघि उनले स्थापना गरेको यो संस्थाले नेपालका दर्जन बढी जिल्लामा विद्यालय भवन, हेल्थपोस्ट, इपुस्तकालय लगायतका क्षेत्रमा काम गरिरहेको छ। मिश्रको पुस्तक पनि उनको जीवन जस्तै मानवकल्याण र राजनीतिक स्तम्भको संग्रह हो। ‘पुस्तक राजनीति र कल्याण केन्द्रित छ। र मेरो पत्रकारिताको मूलबाटो पनि त्यही नै हो’, उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *