दशैँ यात्रा
त्रिभुवन विमानस्थलमा खुबै भिडभाड छ। ट्रली गुडाएर विदेशबाट फर्किएका युवाको प्रशन्न अनुहारले दशैँ उल्लासको झल्को दिइहेछ। अनि कति चाहिँ हातमा बोर्डिङ पास लिएर नयाँ यात्राको प्रतीक्षा गरिरहेछन्। काठमाडौं फर्किए लगत्तै म फेरि अर्को यात्राका लागि विमानस्थलमा छु। गाउँका धुलो मैलोसँग जीवन साट्दै हुर्किएका अनुहार केही वर्षको विदेश बसाइले होला चिल्लो भएछन्! मनैमन मैले अनुमान लाएँ।
‘हुन दे भाइ ! तँ पनि त त्यसरी नै हुर्किइस मोरङको कुनै एउटा कुनामा’, मलाई मेरै चित्तले सम्झायो।
अन्तरार्ष्ट्रिय टर्मिनलबाट हिँड्दै आँखाले देखिएका दृश्य र मनले गरेका कल्पनासँग खेल्दै म डोमेस्टिक टर्मिनलतर्फ लाग्दैछु। नेपाल एयरलाइन्सको कार्गो अफिसमा फूलपातीको दिन खास चहलपहल छैन। एकदुई मान्छे कम्पाउन्डमा छन् अनि ढोका अगाडि अल्छीगरी गार्ड ढल्किरहेछ। मनमा केही समयअघि सामान छुटाउन जाँदा भोगेको झन्झट क्लिक भयो। ‘साला! भ्रष्टहरु अरुको रगत पिएर आफू अब्बल मानव भएको खुशी पाल्दा हुन् !’ कन्सिरी तातेर आयो।
कानका लोती रातो भए होलान्!
‘छोड्दे यार, कुनै दिन यिनलाई गान्धी दुस्मनले ढिच्या ढिच्या गर्दै गोली हान्दा थाहा पाउलान् !’ व्यंग्य चित्त के जागेथ्यो शरीर मन दुवैमा खुशीको सञ्चार पो भइसकेछ। 😄 हे… हे…😄😄
***
‘यो त फेरि आकासमै पड्किने खालको प्लेन पो हो नि’, मेरो सिट पछाडिको ठिटोले एयर होस्टेस अञ्जुले सुन्ने गरी शंका जनायो। उसले पुलुक्क हेरी र मुस्कुराइ। एउटा कठोर त्रास भरिएको आलोचना उसको कृत्रिम मुस्कानसँग बिलिन भयो। हामी करिब २० यात्रु दशैँ उमंग लिएर अग्नि एयरको जहाजमा काठमाडौंदेखि बिराटनगरतर्फ जाँदैछौं। प्लेन ७ हजार फिटको उपचाइमा एकोहोरो उडिरहेछ। मैले झ्यालबाट उत्तरतर्फ आँखा दौडाएँ। टाढा टाढा हिमालका चुचुराहरु घामको उज्यालोमा चम्किरहेका देखिए।
‘मार्छ कि क्या हो ?’ प्लेन कोशी नदीबाट बिराटनगरतिर मोडिने बेलामा फेरि ठिटो बोल्यो। मैले कोशी तटतर्फ आँखा दौडाएँ।
***
बिराटनगर एयरपोर्टमा साढे दश बजे उत्रिँदा राजु आफ्नै कमाइको सेकेन्डह्यान्ड माज्डा कार लिएर पर्खिरहेथ्यो। कस्तो भाग्यमानी म। हार्दिकता र प्रेम सहितको एउटा पर्खाइ। भेट नभएका झन्डै ६ वर्षमा भोगेका आँधी तुफान नदेखाएरै हामी गले लाग्यौं।
‘कस्तो दुब्लाएको तँ ?’
‘अब मोटो हौंला नि तेरो पेट लागेको सट्टा मैले घटाँएँ’, हाँस्दै जवाफ दिएँ।
कालो माज्डा बरगाछीतर्फ हुइँकियो। दिमागभरि पुराना दिन नाच्न थाले। कुनै बेला अग्निको नाइट बसमा सिल्बर प्याकिङको चिकन तन्दुरी र क्यान बियर तान्दै बिराटनगर-काठमाडौं गरेका दिनहरु सम्झिएँ। सन्ध्याका ड्याडले उसलाई थर्काएका वाक्य सम्झनामा के आएथे मलाई हाँसो थाम्नै गाह्रो भयो।
‘तँ त कार चढ्ने भइछ्स यार’, मैले कुरा अन्त मोड्दै हाँसो छोपेँ।
‘तँ पनि त प्लेन चढ्ने भइछस नि ।’ कति बाठो! झापाली आमाहरुको दूधमै बुद्धि मिसिएको हुन्छ कि क्या हो !? 😄😄
***
एशियाली विकास बैंकको ऋणमा दुई वर्षअघि मर्मत सकिएको रंगेली-उर्लाबारी हुलाकी राजमार्गमा वारिपारि धानका बाला झुलिरहेछन्। गाडी एकै गतिमा पूर्व हुँइकिरहेछ अनि सोचिरहेछु यी बालासँगै कति किसानका सपना फक्रेका होलान्। सिधा अगाडि हेर्न छाडेर कुनै बेला म देब्रेतिरको झ्यालबाट टाढा टाढासम्म आँखा फैलाउँछु। धानको बाला झुलिरहेका ठूला ठूला फाँट मसँगै एकाकार भएर हिँडिरहे जस्तो लाग्छ। बिहानीमा छ्याङ्ग खुलेको आकाशले दशैँको संकेत गर्दैछ। नागबेली सडक र त्यसको वारिपारिको हरियाली दृश्यसँगै मन रोमाञ्चित भइरहेछ।
मारुति सिमेन्टको एडसँगै झुन्ड्याएको साइन बोर्ड हेरेपछि मात्र मैले कटरी आइपुगेको थाहा पाएँ। गुरुकुलका सुनिल पोखरेलको गृह गाउँ कटरीमा अघिल्लो वर्ष आउँदा उनका भाइ सुगम पोखरेल मञ्चमा गीत गाइरहेका थिए। यो पटक सुनसान रहेछ। राजु आफ्नै सुरमा गाडी हुइँक्याइरहेछ। र, आनीका गीत कानमा लगाएर मेरै धुनमा म धानका फाँटहरुसँग हराइरहेछु। झसङ्ग भएँ। दिमागले बच्चाहरु सम्झियो। ‘यस पटक त यूरोपबाट ल्याइदिएको एक केजी चक्लेट प्याक पो छ।’ आफैँलाई ढुक्क लाग्यो।
उ कहिले चन्द्रगडीका दोस्तहरुका कुरा निकाल्छ। अनि कहिले विकास, भुवन र सुमनसँग क्यासिनो, डाइनेस्टी डिस्को र ट्वान्टी फो आवार (अहिले उडल्याण्ड कम्पलेक्स भएको ठाउँ) मा हामीले बिताएका चञ्चले इभेन्ट सम्झन्छ। अब कुनै आकर्षण नभएर होला मलाई त्यो बिगतले खुशी दिन सकिरहेको छैन। म अँ अँ मात्र भनिरहेछु उ अघोषित रुपमा पब्लिक बस र मोटरसाइकलसँग प्रतिस्पर्धा गरिरहेछ।
‘त्यो दिनको २ लाख त तैँले गर्दा त जोगिएको नत्र भुवनले सबै हार्थ्यो।’ उसले झन्डै ७ वर्षअघिको क्यासिनो एभरेस्टको एउटा इभेन्ट सम्झाउन खोजेको थियो। त्यो रात किट्टीमा २ लाख जितेपछि राख्न दिएको क्वाइन साटेर म सुटुक्क क्यासिनो बाहिर निस्केको थिएँ। र सधैँ झै होटल उडउल्याण्ड (किङ्स वे) को रुम नम्बर ३ सय २५ मा निदाएको थिएँ। बिहान ब्युँझदा मसँग खल्तीमा २ लाख थियो केटाहरुसँग चाहिँ एभरेस्ट क्यासिनोबाट फ्रिमा ल्याएको मालबोरो चुरोट मात्रै।
‘यतै केही खाएर जाने कि’, तीन नम्बर चोकमा उसले गाडी रोक्यो। पेटमा भोक भए पनि मलाई कतिखेर घर पुग्नु जस्तो भइरहेछ। ‘आमा खाना पर्खिरहनु भा’छ। दशैँमा पनि के बाहिर खानु!’
उसले सहमति जनायो र २० मिनेटको बाँकी यात्राका लागि फेरि गाडी स्टार्ट गर्यो। धानका लहलहाउँदा बाला पछाडि छाड्दै एउटा कालो माज्डा कार दशैँको उल्लास बोकेर सौंठा उत्तरको सुन्दर सडकमा हुइँकिरह्यो। ७ महिनापछि मैले आमा भेटेँ। आमाले २०१० को एउटा उज्यालो दशैँ भित्र्याउनु भयो।