गुन्द्रुके कपाल र उनीहरु
‘गुन्द्रुक जस्तो कपाल भएको अंकल !’ सागर, १३ ले मेरो पछाडि मात्र गर्ने रमाइलो टिप्पणी। ‘अङ्कल हजुर होलीमा हामीसँगै रङ खेल्ने है’, उसले भन्यो। ‘पिचकारी हानेर मलाई भिजाउँछौ होला !’ मेरो शंका सुन्नासाथ उ छटपटिए जस्तै देखियो तोडले दगुर्यो। अनि केही पर पुगेर ठूलो स्वरमा करायो- ‘भिजाउदैनौं, बरु गुन्द्रुके कपाल रंगाइदिन्छौं !’ उफ!
‘हजुर भन्ने मात्र त हो नि हामीसँग पोर नि खेल्नु भएन’, जुनुको आग्रह। रंग मन नपर्ने मेरो स्वभाव सुनाएर उनीहरुलाई किन निरास पार्नु ! ‘खेल्छु बाबा यो पटक हामी छतमा गएर पल्लो घरकी कालीलाई पिच्करी हान्ने।’ दंग परी, उ मुस्कुराइ। नभन्दै २०६६ को होली आयो। संयोग नै भनौं सधैँ राति अबेर मात्र घर पुग्ने म होलीको अघिल्लो दिन साँझमै आइपुगेँ। सम्झिएँ होलीबाचा, अनि अफिसको ‘नागरिक होली’ र नागरिकन्युजमा स्पेसल कभरेज जिम्मेवारी। बच्चाहरुलाई खुशी पार्ने र मेरो जिम्मेवारी पनि पूरा गर्नुपर्ने सोचले एकछिन् बेचैन बनायो। सागर र प्रेरणालाई सँगै लगेर पिच्करी, अबिर, रंग र कच्चा म्याङ्गो किनिदिएँ। अनि भने ‘म भोलि तिमेरुसँग हुन सक्दिनँ। त्यसैले आजै किनिदिएको। राम्रोसँग खेल्नु आएपछि म फोटा हेर्छु नि।’
***
मलाई बच्चाहरुसँगको संगत मनपर्छ खास कारणहरुले, निश्चल र निस्फिक्रीपनले। भिन्न पृष्ठभूमिका बच्चाहरु देख्छु, भेट्छु। समाज र संस्कृतिमा ठूलो भिन्नता हुन्छ तर बच्चाहरुको निश्चलतामा कुनै फरक पाउँदिनँ। आर्थिक हैसियत, परिवार, समाज र परम्परा-संस्कृति र धर्मअनुसार बालसुख र अनुभव फरक हुनु स्वभाविक हो। तर भित्री बालापन सबैको उस्तै पाउँछु। सबै उमङ्गमय हुन्छन्, सबै खेल्न मन पराउँछन्- समाजका सीमा बिर्सेर। म पनि त्यही त गर्थें। आँप चोर्न जाँदा समातिएको, क्लास बंक गरेर गुच्चा खेले बापत सरहरूको पिटाइ खाएको त्यो चकचके समय सम्झँदा यतिबेला हाँस उठ्छ। उमेर बढ्नु जिम्मेवारी थपिनु पनि त रहेछ। सिद्धान्तका ठूला विषय, सम्पत्ति र जिम्मेवारीको पहाडले थिचिएपछि जीवन ओभर कोटजस्तो गह्रौं हुँदोरहेछ। जब त्यो चकचके समय सम्झन्छु- जिम्मेवारीभित्रै पनि बिन्दास भइदिन मनलाग्छ।
***
ए अँ म उनीहरुको कुरा गर्दै थिएँ। म बस्ने घरको अनाथलयका बच्चाहरुको। उनीहरु म आउनुभन्दा अघिदेखि नै यहीँ थिए। मेरो बाल वेबले उनीहरुलाई तान्यो, दोस्ती बढ्यो। म ‘गुन्द्रुक जस्तो कपाल गरेको अङ्कल’ भएँ। मेरा लागि उनीहरु सबै उस्तै- स्नेही, उदाउँदा बालक। अफिसले पठाइदिने नागरिकको बाल सप्लिमेन्ट्री ‘जुनकिरी’ सधैँ उनीहरुकै हो। ‘विस्डम’ म्यागेजिन चाहिँ मासिक उपहार।
एक दिन मैले प्रेरणाको ड्रइङ ‘जुनकिरी’का संयोजक भवसागर घिमिरेलाई देखाएँ। जुनकिरीले स्टान्डर्ड मेन्टेन गर्नुपर्ने थाहा थियो। भनेँ- ‘राम्रो भए छापिदिनु।’ अर्को शनिबार जुनकिरी तेस्रो पृष्ठको सबैभन्दा माथि त्यही ड्रइङ थियो। त्यो दिन रिडिङ रुममा दशैँ आएजस्तै खुशी छायो। कच्चा म्याङ्गोको चक्लेट पार्टी नै चल्यो। जुनु, सागर, ज्ञानेन्द्रले कविता लेख्ने अठोट गरे। युरोपियन कमिसनले आयोजना गर्न लागेको १० देश सहभागी हुने ड्रइङ कन्टेस्टको ट्रम्स एन्ड कन्डिसन वेबसाइटबाट निकालिदिँदा सुमित खुबैसँग फुर्कियो। ‘मेरो ड्रइङ फस्ट भयो भने पुरस्कार लिन हजुर पनि जानुपर्छ’, उसले मलाई समेत हौसाएको थियो। सुमित र प्रेरणा त्यो प्रतिस्पर्धामा सहभागी छन्। बसभन्दा बाहिरको एउटा दुःखद कुरा उनीहरु यहाँबाट सरे। कतिपय शनिबार उनीहरुले मेरा रोजाइका फिल्म हेरे। तर यज्ञश दाइ कान्तिपुर सरेकाले ‘वार डान्स’ डकुमेन्ट्री देखाउने मेरो इच्छा अधुरै रह्यो। बाल संगत छुट्यो, बालसाथी छुटे। अब सम्झना मात्रै छन्- उनीहरुसँगका।
मेरो जन्मदिनको अवसरमा गत ०९ डिसेम्बरमा उनीहरुसँग खिचेको तस्विर।
What a lovely sharing of experince which comples some one to think twice others from worthy reading to know the realistic world keep it up sharing more and more Gundruke Kapal
L B