पासपोर्ट नपाए मध्यराति नारायणहिटी जानु
सोमबारको मध्य राति सिमसिमे पानी परिरहँदा नारायणहिटी पश्चिम गेटमा पासपोर्टका लागि सर्वसाधारणको लाइन सुरु भइसकेको थियो। बत्तीको मधुरो प्रकाशमा लाइनका १३ जनालाई मैले सडक छेउबाट नियालेँ। त्यसले मेरो राष्ट्रको एउटा वास्तविक चित्र प्रस्तुत गरिरहेथ्यो। ‘सेवा दिने कर्मचारीलाई पो कार्यालय समय १०-५। सेवा लिने पहुँचबिहीन सर्वसाधारण हौ भने मध्य रातदेखि नै लाइनमा बस।’ यो त्यही पश्चिम गेट हो जहाँ कुनै बेला ‘प्रधानमन्त्री बन्न पाउ हजुर’ भन्दै राजालाई बिन्तीपत्र चढाउनेहरुको भिड लाग्थ्यो। एउटा राजनीतिक दाउ जनताले जिते, ज्ञानेन्द्रले दरबार त्यागे। तर दरबार पश्चिम गेटको लाइन लाग्ने कथा उस्तै छ। फरक यति हो- अहिले यहाँ पासपोर्ट बनाउनेको लाइन मध्यरातमै सुरु हुन्छ।
***
तपाइँको शुभ नाम ?
सुवास श्रेष्ठ।
कहाँबाट आउनु भएको ?
भीमान, सिन्धुली ।
पासपोर्टका लागि यत्रो मरिहत्तै किन ?
के गर्नु सर बल्ल बल्ल कतार जान लागेको। पासपोर्ट बनाउन ३ पल्ट फर्किसकेँ। हिजो बिहान चार बजे उठेर आएको थिएँ रपनि फर्म बुझाउने पालो आएन। त्यसैले आज छिटै आएको।
काठमाण्डू कहाँ बसिरहनु भएको छ ?
गोंगबुको एउटा गेस्ट हाउसमा।
अबको कति घण्टापछि पालो आउँछ त ?
अहिले भर्खर १२ बज्दैछ। बिहान १० बजेतिर आउँछ होला। अस्तिदेखि दिनको २ सयभन्दा बढीको फर्म बुझ्न छाड्यो। हिजो पनि २ सय ६० मा त परेको थिएँ।
भनेपछि भोलि पासपोर्ट पाइने भइयो ?
के को पाइन्थ्यो भोलि। यो फर्म मात्रै बुझाउने हो भोलि त। त्यसपछि कहिले बोलाउछ थाहा छैन। चार पाँच दिन अझै लाग्छ।
कति खर्च लाग्छ पासपोर्ट बनाउन ?
कुरै नगरौं सर पैसाको त। पासपोर्टलाई ५ हजार। गाडीभाडा, बस्नेखाने गर्दा २० हजार नाघ्छ।
***
सर्वसाधारणले पाइरहेको सास्तीप्रति नारायणहिटी कार्यालय रहेको परराष्ट्र मन्त्रालय बेखबर छैन। तर सबै कुरा बुझेर पनि मन्त्रालय केही गर्न सक्ने अवस्थामा छैन। मुलुकभरिका पासपोर्ट चाहनेहरु एकै ठाउँ जम्मा भएकाले भीड बढेको बुझाइ मन्त्रालयको छ। ‘भीड व्यवस्थित गर्न सोमबारदेखि कार्यालय हातामै वाणिज्य बैंकको एउटा काउन्टर राखेका छौं’, परराष्ट्र सचिव मदन भट्टराई भन्छन्।
माओवादीको तीव्र दबावका कारण चैत अन्तिम साता मेसिन रिडेबल पासपोर्ट (एमआरपी) भारतीय कम्पनीलाई छाप्न दिने निर्णयबाट सरकार पछि हटेको थियो। यसका दुई असर अहिले देखिएका छन्। प्रथम, अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (इकाओको) ले भनेको समयमा नेपाल एमआरपी पासपोर्टमा जान ढिलाइ। दोस्रो परराष्ट मन्त्रालयको मध्यरातको लाइन।
भारतसँग डिल मिलेको भए ४० लाख पासपोर्टको कमिशनस्वरुप दुई वर्षसम्म लगातार परराष्ट्रमन्त्री सुजाता कोइरालाले १० करोड बढी रुपैयाँ कमिशन पाइरहन्थिन्। पछिल्लो पटक राजनीतिक मैदानमा असफलता बेहोरिरहेको माओवादीले यो मामिलामा भने एकै तीरले दुई शिकार गरेको थियो। पहिलो, आन्तरिक विरोधी सुजाताको हातमा मोटो रकम पर्नबाट रोकेको थियो। दोस्रो ५ अर्ब ५३ करोडको बिजनेस डिल रद्द गराएर सत्तारोहणको प्रमुख दुस्मन भारतलाई नेपालमा आफ्नो शक्तिलाई कमजोर नठान्न सन्देश दिएको थियो।
अहिले फेरि मन्त्रालयले एमआरपी छपाइका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ।
नारायणहिटी पश्चिम गेटमा दिउँसो लागेको लाइन।
मुलुक सम्हाल्ने , मुलुक हाक्ने नेता इमान्दार हुनु पर्ने हो , जनताको लागि अभिभाबक जस्तो हुनु पर्ने हो अफसोच ठिक यसको बिपरित छन् केहि हाम्रा नेताहरु .
यस्तै नेताहरुको कारण मुलुक उधो उधो धसिरहेछा , सर्बसाधारण बिभिन्न समस्याको भूमरीमा निस्सासिरहेछान !
सधै स्वार्थी नेताहरुले मुलुकमा रजाइ नगर्लान , असल नेता पनि मुलुकले पाउला
एक दिन .