प्रेमले छोयो उसलाई

Wed May 12 3 Comments


‘हो, मैले उसप्रति प्रेमको भावना राख्न चाहेकी हुँ, कहिलै प्रेमपत्र लेख्न नसकेकी पनि हुँ। लेखे पनि केरमेट गरेर फालेकी हुँ। लेखेर तम्तयार राखे पनि पठाउन हिचकिचाएकी हुँ। तर अब म उसलाई सम्झिएर नजिक भइरहनु पर्ने कारण थिएन। देशमा लोकतन्त्र आइसकेको थियो। म किन उसको सामन्ती प्रेमको बन्दी बनूँ ?’ बिहानको खाजापछि नारायण वाग्लेको मयूर टाइम्स उपन्यससँग बसेको ८८ पृष्ठमा आइपुग्दा साढे ८:१८ बजेछ। मलाई अगाडि जान मन थियो। माथिको सम्वादपछि रोकिएँ।

परागको त्यो सम्वादले मलाई खिचेको हो वा मैले उसलाई आफूसँग आत्मसात गरेको ?

यस्तो आनन्दको कुरा पनि त्यसै सोच्छन् त भाइ ! कफीसँग पो चिन्तन गर्ने हो ! गर्मी चढिसकेकाले मैले तुलसी टी बनाएँ। पूर्वको झ्यालबाट छिरेको श्लेषमान्तक वनको शिरशिरे हावाले झ्यालको पर्दा हल्लाइरहेछ। राति पानी परेथ्यो आकाश खुलेको रहेछ। चियाको कप लिएर सोच्दैछु- यो परागको बोइफ्रेण्ड चाहिँ खतरनाकै होला है ! यी नाग्ले (नारायण वाग्लेको छोटकरी, जो हामी बढी प्यारका साथ उनको पछाडि मात्र भन्छौं) को उपन्यास हातमा लिएर किन रुमलिन्छ्स यार ? चिन्तन छाड। पढे त थाहा भइहाल्छ नि !

***
केही बेरपछि एउटा रुखमुनिको बाटो कम चहलपहल भएको ठाउँ पुगेपछि उसले फेरि हात समात्यो। सोध्यो- म अमेरिका गएपछि के गर्छ्यौ ? मलाई सम्झिरहन्छ्यौ ? (पेज १२८)
परागको जवाफ: बिना कारण कोही कसैलाई किन सम्झने ?

फगत ‘इन्फ्याचुएसन’मा सम्बन्ध चलाउने ‘डम्प माइन्डेड’हरुलाई यो भन्दा कडा जवाफ के हुन सक्थ्यो र ! पराग निकै खतरा केटी हो यार। टियुतिरकी कर्ली हेयरवालीभन्दा पनि डेञ्जर। माने यार नाग्लेको कल्पनाशीलतालाई। चानचुने केटाले यसको लभ-लेभल मेन्टेन गर्न सक्नेवाला छैनन्। म त सक्छु 🙂 बुकमार्क राख्दै टोलाएँ। मन र मस्तिष्कमा रोमाञ्चक वेब तरङ्गित भइरहेछन्। तैंले केही नगरेर पो उ यसै बसेकी हो कि !? 🙂 चित्त प्रशन्न भयो एकैछिन्। ओठ मुस्काए होलान्। उफ ! उपन्याससँग बहकिने हैन भाइ वास्तविकतामा ओर्ली, १ बजे अफिस पुग्नुछ।

नाग्लेका पात्र सजीव छन्। भाषाशैली सरल छ। व्याख्यात्मक बढी भएजस्तो लाग्यो। सम्वादात्मक बनाएको भए अझै राम्रो हुन्थ्यो नि। आफ्नो बुकमा गल्ती नगर्नु नि त ! एकैछिन भित्रभित्रै विवाद चल्यो। ५२ मध्येको अर्को चित्तधारा उठ्यो- अरे भाइ मजाक हो पहिलो संस्करण नै १० हजार छापिनु !? अझै नेपाली भाषाका पुस्तकहरु अस्तित्वको संघर्षमा छन्। यसले बजारकै डाइमेन्सन बदलिदियो। अरु पुस्तक आफू मात्र बिक्री हुन्छन् मयूर टाइम्सले बुक बजारकै सुनौलो भविष्यका लागि जग हालिदिएको छ। मयूर टाइम्सले पाठक बनाएको त्यो बृहत् जमात भविष्यका लेखकका पनि सम्पत्ति हुन्।

***
प्रेमका हजारौं आयमको कलात्मक वर्णन परागको जीवन र जीवनशैलीबाट बुझ्न पाउने लोभमा म मयूर टाइम्सभित्र डुबुल्की लगाइरहेछु। पढाइ रफ्तारमा छ। मनले उसको ‘इन्भिजिबल रफस्केच’ उतारिरहेछ। उ आइपोडमा गीत सुन्छे। सलक्क परेको केश सहितको लाम्चो टाउको हल्लाउँदै बाथरुमतिर आफैँ पनि गुनगुनाउछे होला नि। टम्म मिलेको उसको छाति स्पर्श गर्दै कानसम्म पुग्न पाउने त्यो आइपोड एयरफोन कत्ति भाग्यमानी है ! अर्को उपन्यास लेख्लास् भन्ने खतरा बढ्यो भाइ अब चाहिँ। वास्तविकतामा फर्की, १ बजे अफिस पुग्नुछ। मैले फेरि पाना पल्टाएँ। उसले साथी लिसरासँग मिलेर माओवादी हिंसा र तराइको अपराधिक गतिविधिले उत्पन्न मानवीय वेदनाको घाउ उधिनी। पत्रकार (विशेषगरी केटी) का पीडा, चुनौती र साहसिक रोमाञ्चक मनोविज्ञानलाई एक एक केलाइ। पत्रकारे जीवन र न्युजरुमको दाउपेच व्याख्या गर्दै बाह्य संसारमै रमाइरही।
हो, परागलाई प्रेमले छोयो तर उसले कसैलाई छोइन।

तिमी र म जति टाढा हुँदै जान्छौं
हाम्रे प्रेमको चरो एक्लै डुलिरहन्छ
तिमी र म जति अर्कालाई बिर्सिरहन्छौं
हाम्रो मनको भाका एक्लै गुञ्जिरहन्छ…। (पृष्ठ ९२)

(आफूलाई मनपरेको संगीत भरेर सुन्नु ल :))


नारायण वाग्ले हस्ताक्षर पढ्न उपन्यास अनि समर्पित कामको शुभकामना पनि पाएँ मैले।

3 thoughts on “प्रेमले छोयो उसलाई

  1. “परागलाई प्रेमले छोयो तर उसले कसैलाई छोइन।” ……….उ मात्र पराग थी नि त ! धराबासीको राधा थीइन नि त कृष्ण जी !!

  2. म्म मिलेको उसको छाति स्पर्श गर्दै कानसम्म पुग्न पाउने त्यो आइपोड एयरफोन कत्ति भाग्यमानी है

    घुमिफिरी रुम्जाटार भनेझै भयो त मिज्यु । कल्पना गर्दागर्दै त्यतै तानिनुपर्छ र ? सजिवको कल्पना त गर्यौं गर्यौं अब उपन्यासको पात्रमा पनि त्यही कल्पना ?
    माने मितज्यु माने तिम्रो …………कल्पना

Leave a Reply

Your email address will not be published. Required fields are marked *