सामान्य केटी झरना

Sat May 8 4 Comments


गएको दसैंमा विपश्यना ध्यान गर्न बुढानिलकण्ठ पुगेका धेरैले उनलाई चिन्न नसकेर फर्की-फर्की हेरेका थिए। र, झुक्किँदै भनेका थिए, ‘तपाईं झरना बज्राचार्यजस्तै हुनुहुँदो रै’छ।’ उनलाई नचिन्नु स्वाभाविक थियो। म्युजिक भिडियो र सिनेमाको पर्दामा देखिने उनका मादक आँखा त्यतिबेला प्रकृतिको जिम्मामा थिए, कृत्रिम गाजलबिना। अरू सौन्दर्य साधनले पनि उनको शरीरलाई छोएको थिएन। नेपाली ग्ल्यामर दुनियाँकी ‘बोल्ड एन्ड ब्युटिफुल’ झरना त्यहाँ ध्यानीहरूको सेवाका लागि खटिएकी थिइन्। भनिन्, ‘त्यो मेरो छैठौंपटकको १० दिने शिविर थियो।’

सन् १९९७ को मिस नेपाल ताज पहिरिनुअघि नै उनको शिरलाई विपश्यनाले सिँचेको थियो। ‘त्यतिबेला म कक्षा १० पढ्दै थिएँ,’ झरनाले सुनाइन्। त्यो किशोरावस्था थियो। र, सबै केटीहरूमा जस्तै किशोरावस्थाले कोरल्ने इमोसनल सपनाहरू उनमा पनि थिए। १० दिनको ध्यानपछि बोल्न पाउँदा आत्मविश्वास थपिएको र परिपक्व भएजस्तो लाग्यो रे उनलाई। उनको परिवारै विपश्यना अभ्यास गर्छ। तर उनी परिवारले ध्यानमा पठाएको ठान्दिनन्। ‘कसैले जा भनेर गएको हैन। जन्मँदै आउने प्राकृतिक गुण वा संस्कारले तानेको होला। खै!’ उनले यतिमात्र भनिन्।

१९९७ को अगस्टमा भएको मिस नेपाल प्रतियोगिताले उनलाई ‘नोबडी’ बाट रातारात ‘सेलेब्रेटी’ बनाइदियो। ‘ओहो! भोलिपल्ट पत्रिकाका मुख्यपृष्ठमा मिस नेपालको ताज पहिरिएको फोटो देख्दा संसारै फेरिएजस्तो लाग्यो नि!’ १२ वर्षपछि सोमबार ती दिन सम्झिँदा उनको मुहारमा उस्तै चमक थियो। नभन्दै मिस नेपाल झरनाको दैनिकी फेरियो। महत्वाकांक्षा चुलिए। चाहना बद्लिए। इच्छा फैलिए। ‘त्यो जीवनकै महत्वपूर्ण टर्निङ प्वाइन्ट थियो, जहाँबाट म आजको अवस्थाका लागि पहिलोपटक हिँडेकी थिएँ,’ उनले सटिक उत्तर दिइन्। मिस नेपाल नभएको भए नि? अवसर र उपलब्धिको कोणबाट हेर्दा उनलाई लाग्छ, जीवन एउटा संयोगहरूको अन्त्यहीन शृंखला हो, जहाँ केही बन्ने र नबन्ने सम्भावना आधाआधा हुन्छ। मान्छे कति हदसम्म सचेत भएर तिनलाई कतिबेला समात्न सक्छ भन्ने कुरा महत्वपूर्ण हो। ‘सायद कुनै विदेशी विश्वविद्यालयकी छात्रा हुन्थेँ हुँला,’ उनी बल्ल हामीले खोजेको बिन्दुमा आइपुगिन्।

***
निर्देशक प्रकाश सायमीको ‘हतियार’ मार्फत फिल्मी दुनियाँमा पाइला राख्दा नेपाली फिल्म उद्योग उदाउँदो थियो। यो सन् १९९८ को कुरा। त्यो उदाउँदो उद्योगमा एउटै फिल्मबाट हिट भइन् झरना। तर उनका फिल्म हिट हुन सकेनन्। किन त? २८ वटा फिल्म रिलिज भएपछि अहिले उनलाई लाग्न थालेको छ, कथावस्तु र भूमिकालाई बेवास्ता गर्दै सोच मिल्नेसँग मात्र काम गरिन् रे। ‘सायद यी कुरामा ध्यान दिनुपर्थ्यो होला,’ सुहाउँदो भूमिकामा निर्देशकले छान्न नसक्नु अर्को कारण ठान्छिन् उनी, तर त्यो त उनको वश बाहिरको विषय भइहाल्यो। ‘निरुता र सञ्चिताजीको जस्तो भूमिका मलाई सुहाउँदैन,’ उनले भनिन्, ‘निर्देशकले त्यो बुझेनन्।’ आफू हिट सेलेब्रेटी भएकोमा उनलाई केही झकास भएजस्तो लाग्दैन, न त फिल्म असफल भएकोमा दुःख नै। ‘राम्रो गर्न खोजेको हो; चलेन त चलेन,’ उनले निस्फिक्री जवाफ फर्काइन्।

हिरोइन एक्लैले सिँगै फिल्म बोक्न सक्छ भन्नेमा नेपाली फिल्म उद्योगले अझै विश्वास गर्दैन। यही सोचका कारण हिरो-हिरोइनको पारिश्रमिकमा ठूलो अन्तर छ। झरना फरक तरिकाले सोच्छिन्। ठान्छिन्, कामअनुसार पारिश्रमिक पाइन्न। फिल्म उद्योग र उनीबीच पलाएको यही दुरी उनका हातमा बिस्तारै फिल्महरू कम पर्न थाले। ‘संजिवनी’को प्रदर्शनपछि उनको फिल्मी करिअर धर्मराउँदै गयो। त्यहीबेला अर्को संयोग जुर्‍यो। सन् २००३ मा भारतीय निर्देशक रजत मुखर्जी ‘लभ इन नेपाल’ सुटिङका लागि मुम्बईबाट नेपाल आउँदा झरना त्यसको एक मुख्य पात्रका रूपमा अनुबन्ध भइसकेकी थिइन्। कस्तो भाग्यमानी है? ‘भाग्यमानीमात्र हैन, मेहनती पनि होला,’ उनले भनिन्।

‘लभ इन नेपाल’मा तानियाँको भूमिका पाएकी उनको चर्चा अभिनयका लागि भन्दा ‘कतरा…कतरा…’ गीतमा दिएको अंगप्रदर्शनका लागि बढी भयो। अढाई वर्षको मुम्बई बसाइपछि उनले बलिउड सपनालाई पर्खिनुभन्दा काठमाडौं फर्किनु उपयुक्त ठानिन्। म्युजिक भिडियो र ‘सोच मिल्ने’हरूसँग अहिले पनि झरनाको ग्ल्यामर यात्रा जारी छ। आलोक नेम्वाङको ‘कोही मेरो’ झरनाको आगामी चलचित्र हो। त्यो राम्रो चलचित्र बन्दैछ र त्यसले आफूलाई फिल्मी करिअरमा माथि पुर्‍याउने आसा उनको छ।

***
केही फिल्म समीक्षकहरू भन्छन्, ‘झरनाजस्तो व्यक्तिले मात्र नेपाली फिल्म माथि उठ्न सक्छ।’ समीक्षकका कलमले उनलाई अब्बल हिरोइनका रूपमा व्याख्या गरेका पनि छन्। तर, दर्शकका आँखामा उनी प्रिय भइनन्। ‘राम्रो हुनु र चल्नु फरक कुरा हुन्,’ उनको बुझाइ छ। बिनासन्दर्भ तारिफका लागि शब्द खर्चने समीक्षक र फिल्म नरुचाउने दर्शकलाई उनले दिने नम्बर बराबर हो। ‘नो कमेन्ट!’ उनको बुझाइ छ, ‘हाम्रो ज्ञान र पृष्ठभूमि समान छैन। अनुभव एकै छैनन्। किन धेरै आसा गर्ने?’

नम्बर वन हिरोइन हुनु र नहुनुले फरक पार्ला नि?

‘बजारलाई असर पार्नसक्छ, म आफैलाई चाहिँ केही फरक पार्दैन। किन नम्बर वन हिरोइन बन्नुपर्‍यो? नम्बर वन बन्नु र नबन्नुले मेरो जीवनमा के महत्व राख्छ?’ यसो भनिरहँदा उनका आँखामा कुनै घमण्डको भाव थिएन, न त आफू नम्बर वन नहुनुको हीनताबोध नै थियो। उनले शान्त र सरल ढंगले संसारलाई सून्यमा टुङ्ग्याइन्। भनिन्, ‘तपाईंका प्रश्न र तर्कहरू पेसाले उब्जाएका मात्रै हुन्। संसार भन्नु नै फगत झुठ र तर्कहरूको शृंखलाबद्ध खेल हो। अचेत मान्छेहरू झुठ र तर्कको भुमरीमा फसेर जीवन बिताउन सक्छन्। म केही अलग अनुभव गर्छु।’ उनले बुद्धको इन्द्रियातित अवस्थाको अनुभव सोझै पोखिन्। हामीबीच एकअर्काबीच झन्डै १० सेकेन्ड जति हेराहेर भयो होला।

अनि त्यो अलग अनुभव के नि?

‘अनुभवको भारी शब्दले बोक्न सक्दैन। कसरी भन्नु, खै! तपाईंहरू विपश्यना जानुहोस् न।’

‘हस्।’

‘जीवन के हो?’

‘तपाईंले सोधेजस्तो ठ्याक्कै भन्नलाई यो कुनै म्याथ हैन। यो पूरै फेनोमेना अनित्य र सून्य छ। दिमागले निर्माण गरेका विषयहरूप्रतिको आशक्तिले दुःख थपेका छन्। पजेरो गाडी, घर, नम्बर वन बन्ने चाहना सबैले दुःख निम्त्याएका छन्।’

‘भिक्षुणी बन्ने तयारीमा हो कि क्या हो?’

‘हैन, हैन। यो विपश्यनाबारे अलिकति पनि थाहा नपाएका मान्छेले गर्ने टिप्पणी हो। त्यो एउटा गहिराइमा पुगेर आफूलाई अनुभव गर्ने प्रक्रिया मात्रै हो।’

चार वर्षको लगातार ध्यान संगतपछि अब झरनाको जीवनका दुई पाटा स्पष्ट विभाजित छन्। एउटा पक्षबाट हेर्दा उनी नेपाली चलचित्र उद्योगकी अब्बल हिरोइनका रूपमा भेटिन्छिन्, जुन उनको पेसा हो। अर्को पक्ष नियाल्दा मोक्षको बाटोमा धेरै पर पुगिसकेकी कुनै बौद्ध भिक्षुणीजस्तै लाग्छिन्, जुन उनको साधना हो। ध्यानको बाटोमा यति अगाडि पुगिसकेपछि अब झरनालाई लाग्न थालेको छ, जीवनलाई कुनै कृत्रिम रंग दिइनु हुँदैन जीवनकै स्वरुपमा छाडिदिनुपर्छ। गुलाब फूल्दा कुनै सौन्दर्य लिएर फूलेको हुँदैन। मान्छेले त्यसलाई तर्क र बुद्धि लगाएर राम्रो-नराम्रो भन्दै मूल्यांकन गरिदिन्छन्। ‘तर कोपिला, फूल र ओइलाएर झर्ने गुलाबको नेचरलाई मान्छेको बुद्धिले रोक्न सक्दैन,’ उनले भनिन्। अनि के त? ‘हामी मान्छेको चक्र पनि त्यस्तै हो।’

म्युजिक भिडियो, कलिउड, बलिउड सबैको अनुभवसँगै झरनालाई ग्ल्यामर क्षेत्रले सार्वजनिक पहिचान, गाडी चढ्ने पैसा र अरू धेरै थोक दिएको छ। तर धम्महल (ध्यान गर्ने हल) मा कुचो लगाउँदा जति आनन्द संसारका कुनै विषयले नदिएको अनुभव उनको छ। भनिन्- ‘अरु केही इच्छा छैन, सामान्य केटी बन्नु मेरो लक्ष्य हो।’
साथी सन्तोष रिमालको साथमा


झरनाले इमेलमा पठाइदिएको यो फोटो पाँच-६ वर्षअघिको हो। मेरो क्यामेरामा कैद भएकी अहिलेकी सामान्य झरना (माथि)

4 thoughts on “सामान्य केटी झरना

  1. सधैँ पढिरहिएकी मोडल र नायिका भन्दा विपश्यनाकी यी झरना विशेष छिन् । पढ्न पाएर खुशी लाग्यो…

  2. Cool, i really appreciate her feelings.I think she is in totally neutral stage where she can find out the proper path of her life.

Leave a Reply

Your email address will not be published. Required fields are marked *