नायकको पर्खाइ

Tue May 4 1 Comments


ए… म त पोखरा पो छु’, माओवादी हड्तालको दोस्रो दिन साँझ नागरिक नायक महावीर पुनले काठमाडौंमा नरहेको बताए। ‘अरे दाइ हाम्रो काम पनि नयाँ संविधान लेख्ने जस्तै हुने हो कि !’ मैले मजाकको शैलीमा भने। उनको बोली शान्त थियो। निस्फिक्री जवाफ फर्काए- ‘बाहिर जानुपर्ने काम धेरै छन्।’ त्यो एउटा समय थियो जतिबेला म बद्लिँदै थिएँ। पाँच फुट ८ इञ्चको स्थुल शरीरमा हैन विचारमा, सोचमा अनि भावनामा। राजनीतिक चिन्तन र आर्थिक चिन्ता छाडेर ब्युँझदै गरेको त्यो समयमा मेरा आँखामा परेका एकजना सामान्य मान्छे थिए- महावीर पुन। मलाई अझै सम्झना छ ४ अगस्ट २००७ को त्यो घमाइलो बिहानी। उनलाई पहिलो पटक भेट्न हामी (उमेश र म) क्यामेरा, डिजिटल अडियो रेकर्डर, क्यामकोडर र डायरी-कलम सहित बागबजार पुगेको थियौं।

सहरमा ट्राफिकलाई एक लाखको मोटरसाइकल दिएर पत्रिकामा फोटो छाप्न अर्थब्युरोहरुलाई दबाव दिने गोल्छा अर्जनाइजेशन र मोरङ अटोहरुको बोलवाला छ। उनले काम गरे। शिर्फ काम मात्रै। ‘कामका लागि बाँच्दा बधाईले केही अर्थ राख्दैन, फोटो छापिनुको केही माने हुँदैन’- उनको भनाइको गहिरो अर्थ म तीन वर्षपछि बल्ल बुझ्दैछु।

‘नबिर्सनु होला है’-

के कुरा ?

‘नागरिक नायक बनेको कुरा।’ वैशाखको पहिलो साताको एउटा भेटमा मैले रिपब्लिका-नागरिक समिटमा उनको प्रस्तुति बारे सम्झाउन खोजेँ। महावीर दाइमा खासै उत्साह देखिएन। न त इन्कारको भाव नै थियो। मुस्काए मात्रै।

‘तिमरु पनि खै के गर्छौ-गर्छौ। मलाई पोखरा जानुपर्ने थियो।’ मौलिक पाराको जवाफ आयो पोलिस नगरेका शब्दमा।

हो, काम गर्नेलाई शब्दमा पोलिस लाइरहन पर्दैन। काम नै धेरै कुराको जवाफ हो। म बाँचेको समाज त्यही बाहिरी पोलिस देख्छ, काम बुझ्दैन। बुझ्थ्यो होला, घोत्लिनै चाहँदैन। ‘कसै कसैले त लफङ्गा भन्ठान्छन्’- म्यागसेसे पाइसकेपछि पनि उनले संगालेको यो अनुभव अल्ट्रा मोडर्न काठमाडौंको यथार्थ चित्र हो। ‘चिनेपछि फेरि तिनीहरु नै नतमस्तक बन्छन्।’

उनको जीवनको चार्म बाहिरबाट हेर्दा जति लोभलाग्दो देखिन्छ भित्र त्यति नै रहरलाग्दो पाउँदिन्। भित्रको जीवनशैली भोग्ने आँट जो कोहीले गर्नै सक्दैन। ‘बिहानको खाना पनि खाएकै छैन’, साँझ ७ बजेतिर बागवीर र स्याटेलाइटसँगको भेटमा उनले सुनाउँदा म चौथो पटक खाइरहेको थिएँ।

धेरै अवस्थामा मान्छेमा दुई किसिमको शक्ति अनुभव गर्छु- सकारात्मक र नकारात्मक। त्यसकै सेरोफेरोमा जीवन घुमेको पाउँछु। कोही बनाउन कोसिस गर्छन्, कोही फगत भाग्न र आलोचना गर्न। महावीर दाइ निकै गजबका मान्छे लाग्छ यस मामिलामा।

फोन राख्नुभन्दा अघि सुनाए- ‘बन्दसन्द त्यस्तै हो म त व्यस्त छु यता। बाटो खुलेपछि काठमाडौतिरै भेटुँला नि।’




थानेश्वर कँडेलको अगुवाइमा वाग्लुङमा स्थापना हुन लागेको कम्युनिटी लर्निङ एन्ड रिसर्च सेन्टर बारे महावीरसँग भएको छलफल। लर्निङ सेन्टरका लागि महावीरको नेपालवायरलेसले इन्टरनेट सेवा प्रदान गर्ने बारे छलफल भएको थियो।

One thought on “नायकको पर्खाइ

  1. ६०१ मा थोरै मात्रै पनि महा वीर पुन जस्तो मान्छे हुदो हो त संबिधान निर्माण समय मै हुन्थियो होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *