एक्लै, एक्लै
चाहेर वा नचाहेर जीवनमा म आजसम्म धेरै समय एक्लै रहेँ। निश्चित विषय र भोगका लागि नजिकिएकाहरु तिनको प्राप्तिसँगै टाढिन्थे। फेरि एक्लै बनाइन्थेँ वा हुन्थेँ। हिजोआज लाग्छ. एक्लिनु नै म हुनु हो। र त्यसपछि मात्रै मान्छेले अस्तित्वको वास्तविक अनुभूति गर्न सक्छ।
गहिराइमा पुगेर सुक्ष्म रुपमा हेर्दा वास्तविक धरातलमा कोही कसैको साथमा हुँदैन। जन्मिदा एक्लै, मृत्युमा एक्लै। तर जन्म र मृत्युबीच पनि जीवन भइहाल्ने रहेछ। सम्बन्ध र साथहरु रहिहाल्ने रहेछन्। बलियो पुल भइदिँदा खोला फड्किन सहज भएजस्तै। मृत्युसम्मको यो यात्रामा साथको बलियो पुल निर्माणको कल्पना म पनि गर्थेँ कुनै बेला। अब त घरिघरि लाग्छ संसारका साथ, सम्बन्ध र तिनले उत्पन्न गराउने इन्द्रिय सुखका विषयहरु सबै काल्पनिक हुन्। जीवन एउटा अनन्त पेजले भरिएको फिक्सनल पुस्तक हो। जहाँ एउटा अध्यायदेखि वाक्क भएर बडो जोड र फूर्तिसाथ नयाँ जीवनको पाना पल्टाउँदा फेरि फिक्सनकै दुनियाँको अर्को नयाँ अध्ययाय सुरु हुन्छ। फरक यति हो उमेर, शक्ति र आर्थिक हैसियत अनुसार बुकका अध्यायको रंग चित्र हामीलाई एकै नलाग्ला।
करिअर र सम्बन्धमा मात्र हैन बुझेर/नबुझेर अहिलेसम्म मैले पाइलैपिच्छे ‘जीवन फिक्सन’का असंख्य पानाहरु पल्टाएको छु। धेरै रंगहरु रंगहरु छामेको छु।
बडो शान्ति अनुभव हुन्छ त्यो भ्रमको बाहिरी-बाहिरी झिल्लीबाटबाट कुनै कुनै बेला मात्र भए पनि बाहिर निस्केर अघि बढिरहेको अनुभव गर्न पाउँदा। नभोगिएको विषयमा बैराग्य/वितृष्णाको नाटक एउटा सकारात्मक पाखण्ड मात्रै हो, सम्यक जीवनको मार्गमा त्यसको कुनै अर्थ हुँदैन। अनुभव नगरी टाढिएको भए यी भुलभुलैयाको भ्रमप्रतिको आकर्षण निकै चुलिएको हुन्थ्यो होला यतिबेला। अब ती विषयप्रति घृणासम्म पनि जागृत गराउन जरुरी छैन। मेरो मनोविज्ञानको यो पक्ष नजिक रहेकाहरुसँग निर्धक्क सेयर गर्थें कुनै बेला। तिनलाई बडो झ्याउ लाग्दो रहेछ। ती डराउँथे। कहिले कहीँ वाइयात ठान्थे। यस्ता घटनाहरुपछि मैले आफूलाई अझ एक्लो पाउँदै गएँ। र, अझ परिपक्वसँग सिक्दै गएँ एक्लै बाँच्न।
अहिले देख्दैछु त्यो अग्लो आकाश निहुरिएर मेरो धरातलको पृथ्वीलाई छुन खोजेको। निलो शान्त आकाशबाट देखिने विषय प्रशसस्त छन्। आकाश निहुरिएर आफ्नै तहमा आइपुग्दा खुशी हुनुपर्ने नि। म सक्दिन। मैले देखेको झुकेको आकाश फगत क्षितिजको भ्रम मात्रै हो। पर पुगी क्षितिज भेट्न खोजे, क्षितिछ छुन खोजे फेरि त्यस्तै भ्रमको अर्को आकाश नुहिनेछ। मेरो सीमितताका लागि म क्षमा चाहन्छु। म जे देखिन्छु त्यो होइन, म जे हुँ त्यो बुझाउन सक्दिन।
कहिले कहीँ मज्जा लाग्छ यो जीवनशैलीसँग। धेरै समय मनमा शान्ति स्थिर रहन्छ। अनि अनुभव गर्छु मेरो खुशीको स्रोत बाह्य वस्तु वा व्यक्ति हैनन्, म स्वयं हुँ, मेरो एक्लोपन हो। हो दुःखी हुन अब कोही चाहिँदैन, न त खुशी हुन कसैको जरुरत पर्छ। जति छु- एक्लै। दुःखमा पनि, खुशीमा पनि- एक्लै ! एक्लै !!